संघीय संसद् सचिवालयको रेकर्ड अनुसार रास्वपा सांसदहरूले जेठ महिनामा बसेका ९, असार महिनामा बसेका १७ र साउन महिनामा बसेका ६ वटा बैठक बहिष्कार गरेका छन् ।
प्रतिनिधिसभा बैठक जेठमा १३ गतेपछि १४, १५, २२, २५, २६, २८, २९ र ३० गते बसेको संघीय संसद् सचिवालयको रेकर्डमा उल्लेख छ । असारमा १, २, ४, ५, ६, ७, ८, ९, १०, १४, १५, २३, २४, २५, २९, ३० र ३१ गते बसेको रेकर्डमा देखिन्छ । त्यस्तै साउनमा अहिलेसम्म ७, ८, ९, १९, २० र २१ गते प्रतिनिधिसभा बैठक बसेको छ ।
यी बैठक बहिष्कार गरे पनि रास्वपा सांसदहरूले ‘संघीय संसद्का पदाधिकारीहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन २०७३’ अनुरुप यातायात खर्चवापत पाइने बैठक बसेको दिनको एक हजार रूपैयाँ र बैठक भत्ताबापत पाइने एक हजार रूपैयाँ भने बुझिरहेको संसद्को रेकर्डमा देखिन्छ ।
‘उहाँहरूले सचिवालयमा उपलब्ध गराएको खातामा जेठ र असार महिनाको यातायात खर्च र दैनिक बैठक भत्ता गएको देखिन्छ,’ प्रवक्ता गिरीले बताए ।रास्वपाका प्रतिनिधिसभामा २१ सांसद छन् । तीमध्ये पार्टी सभापतिसमेत रहेका सांसद रवि लामिछाने सहकारी ठगी प्रकरणमा २०८१ पुस ७ गतेदेखि निलम्बनमा छन् । रास्वपाबाट समानुपातिकतर्फकी सांसद् इन्दिरा रानामगर उपसभामुख छिन् । बाँकी रहेका १९ सांसदमध्ये प्रमुख सचेतक सन्तोष परियारलाई सचिवालयले गाडी उपलब्ध गराएकाले यातायात खर्च पाउँदैनन् ।यसो हुँदा रास्वपाका १९ सांसदले जेठ महिनाको ९ र असार महिनाको १७ गरी २६ बैठकको बैठक भत्ता बहिष्कार गरे पनि बुझेका छन् भने १८ सांसदले यातायात खर्च बुझेका छन् । सरसर्ती हिसाब गर्दा १९ सांसदको २६ दिनको बैठक भत्ता चार लाख ९४ हजार हुन्छ । त्यस्तै १८ सांसद्को २६ दिनको यातायात खर्च चार लाख ६८ हजार हुन्छ ।
त्यसमा केही सांसद केही बैठकमा अनुपस्थित भएको देखिए पनि एकमुष्ट विवरण आइपुगेको छैन । उनीहरूले बुझेको यो रकममा ‘टीडीएस’ काटिने संघीय संसद् सचिवालयले जनाएको छ ।
रास्वपाबाट प्रतिनिधिसभामा लामिछाने र रानामगर बाहेक अशोककुमार चौधरी, असीम शाह, गणेश पराजुली, चन्दा कार्की (भण्डारी), डोलप्रसाद अर्याल, डा. तोसिमा कार्की, निशा डाँगी, विन्दवासिनी कंसाकार, विनिता कठायत, मनिष झा, लक्ष्मी तिवारी, विराजभक्त श्रेष्ठ, शिव नेपाली, शिशिर खनाल, डा. स्वणिम वाग्ले, सुमना श्रेष्ठ, सोविता गौतम, सन्तोष परियार र हरि ढकाल सदस्य छन् ।





























