काठमाडौं– नेकपा (माओवादी केन्द्र)को पहलमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा र नेकपा (एकीकृत समाजवादी)बीच एकता प्रक्रिया तीव्र बनिरहेको छ । तीनवटै दलले छिट्टै एकताको टुंगो लगाउने लक्ष्य राखेका छन् ।
शुक्रबार छलफलहरूमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेकपाका महासचिव विप्लवलाई क्रमशः अध्यक्ष र महासचिव बनाउने प्रस्तावमा सहमति पुगेको नेताहरूले बताएका छन् । एकताको प्रक्रिया भदौ मसान्तसम्म टुंगो लगाउने तयारी छ ।
तीन दलले विगतमा असफल भएका पार्टी एकताको नाम ‘नेपाल कम्युनिस्ट पार्टी (नेकपा)’ नै राख्ने विषयमा पनि छलफल गरिरहेका छन् । कानूनी समस्याहरू नभए उक्त नाममा सहमति हुने दाबी स्रोतहरूले गरेका छन् ।
माओवादी केन्द्रको स्थायी समिति बैठकले एकताको वातावरण बनाउन एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा र एकीकृत समाजवादीसँग संवाद तीव्र गर्ने निर्णय गरेको छ । शीर्ष नेताहरूले साझा शक्तिको निर्माणमा पूर्ण सहमति जनाउँदै दोस्रो तहका नेताहरूलाई एकता प्रक्रिया अगाडि बढाउन जिम्मेवारी दिएको छ ।
दोस्रो तहका नेताहरूले केन्द्र र प्रदेश तहसम्मको एकता खाका तयार गरिसकेका छन् । यद्यपि, पद र सैद्धान्तिक विषयमा अझै केही मतभेद रहेका कारण केही अन्य बाम दलले हल्ला फैलाउने सम्भावना रहेको नेताहरू बताउँछन् । विप्लवले पनि शीर्ष नेतृत्वबाहेक आन्तरिक फोरमहरूमा एकताको नगर्ने बताएका छन् ।
एकीकृत समाजवादी र नेकपाले भदौ अन्तिम साता आफ्ना शीर्ष तहका बैठकहरू बोलाएर एकताको निर्णय गर्ने तयारीमा छन् ।
पछिल्लो पटक एमाले र माओवादी केन्द्रबीचको हतारमा भएको एकता टिक्न नसकेको अनुभवलाई ध्यानमा राख्दै यसपटक पद व्यवस्थापन, सैद्धान्तिक मतभेद र नेताहरूबीचको सामञ्जस्यलाई प्राथमिकता दिइएको छ ।
माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आइतबार एकीकृत समाजवादीका झलनाथ खनालसँग भेटेर पार्टी एकताको विषयमा संवाद गरेका छन् । श्रेष्ठले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरी फर्किएपछि पनि दुई दलका नेताहरूसँग निरन्तर भेटघाट गरिरहेका छन् ।
एकीकृत समाजवादी भने सिद्धान्तमा भने माओवादी केन्द्रभन्दा टाढा भए पनि व्यवहारमा निकट रहेका छन् । माधवकुमार नेपालले सैद्धान्तिक मतभेद भए पनि संगठनात्मक सन्तुलन मिलाइ राजनीतिक रूपमा बलियो शक्ति बनाउन संवादमा रहेको बताएका छन् ।
पूर्वराष्ट्रपति भण्डारीको राजनीतिक सक्रियतामा एमालेले अवरोध पुर्याएको बुझाइ रहेकाले प्रचण्ड नेतृत्वका साना बाम दलले भण्डारीसँग परामर्श गर्दै पार्टी एकता बढाउने र एमालेलाई कमजोर बनाउने रणनीति अघि सारेको स्रोतले दाबी गरेको छ ।
एमाले भित्रको असन्तुष्टिका केन्द्रबिन्दु पूर्वराष्ट्रपति भण्डारीसँग जोडिएपछि प्रचण्ड र माधवकुमार नेपालले भण्डारीलाई साझा नेतृत्वमा ल्याएर सबैलाई एकताबद्ध गर्न सकिने अपेक्षा राखेका छन् । यसले एमाले भित्रको द्वन्द्वलाई कमजोर पार्दै नयाँ कम्युनिस्ट शक्ति निर्माण गर्ने लक्ष्य पनि पूरा गर्न सकिने वाम नेताहरूको विश्लेषण छ ।



























