२२ भदौ, काठमाडौं । जेन-जीले बेथितिविरुद्ध काठमाडौंमा प्रदर्शन गर्ने भएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौं सुरक्षा रणनीति बनाउन आन्तरिक तयारीमा जुटेको छ ।
जेनजीले सोमबार शान्तिपूर्ण रूपमा माइतीघर मण्डलादेखि नयाँ बानेश्वरसम्म प्रदर्शन गर्ने बताएका छन् । प्रदर्शनका लागि प्रशासनले समेत अनुमति दिइसकेको छ ।
माइतीघर-नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनको अनुमति माग्न केही जेनजी विद्यार्थीहरू जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेका थिए ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) छवि रिजालले पनि जेनजीहरू आएको पुष्टि गर्दै भने, ‘भोलिको प्रदर्शनका लागि भनेर उहाँहरू आउनुभएको थियो । निषेधित क्षेत्र बाहेकका ठाउँमा शान्तिपूर्ण प्रदर्शन गर्न अनुमति दिएका छौं ।’
सरकारले समाजिक सञ्जालमाथि लगाएको प्रतिबन्ध, देशमा व्याप्त भ्रष्टाचार, बेथिति, नेता र उनीहरूका छोराछोरीको बिलासी जीवनशैलीमा प्रश्न गर्दै जेन-जीले सोमबार प्रदर्शनको घोषणा गरेका हुन् ।



























