७ भदौ, काठमाडौ । २५ वटा म्यानपावर कम्पनी सूचीकृत भएपछि युवा, श्रम तथा रोजगार मन्त्रालयले मलेसिया सरकारलाई पत्राचार गरेको छ ।
मलेसिया सरकारले नेपालबाट श्रमिक पठाउन २५ वटा म्यानपावर कम्पनीलाई सूचीकृत गरेको विषयमा श्रम मन्त्रालयले पत्राचार गरेको हो । मन्त्रालयका प्रवक्ता पिताम्बर घिमिरेले यस विषयमा परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पत्राचार गरिएको बताए ।
नेपालमा सयौं म्यानपावर कम्पनी इजाजत लिएर काम गरिरहेको अवस्थामा केही सीमित कम्पनीलाई मात्रै अनुमति दिँदा व्यवसायमा एकाधिकार (सिन्डिकेट) लादिएको भन्दै व्यवसायीहरूले विरोध जनाएपछि मन्त्रालयले कूटनीतिक पहल सुरु गरेको हो ।
मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसिया सरकारलाई पठाएको पत्रमा विद्यमान प्रणालीलाई नै निरन्तरता दिन वा नयाँ प्रणाली लागु गर्ने भए द्विपक्षीय छलफल र संवादबाट टुङ्गो लगाउन आग्रह गरिएको हो ।
‘हामीले परराष्ट्र मार्फत मलेसियालाई एउटा पत्र पठाएका छौँ । जसमा नेपाल र मलेसियाबीच भएको श्रम सम्झौता र संयुक्त प्राविधिक समितिको बैठक मार्फत यस्ता विषयमा छलफल हुनुपर्ने उल्लेख गरिएको छ,’ प्रवक्ता घिमिरेले भने । मन्त्रालयले सुधार र पारदर्शिताका लागि नेपाल सकारात्मक रहे पनि सिन्डिकेटको पक्षमा नरहेको प्रस्ट पारेको छ ।
मन्त्रालयले हाललाई पुरानै संयन्त्र मार्फत कामदार पठाउने वातावरण मिलाउन र कुनै पनि नयाँ परिवर्तन गर्दा आपसी समझदारीमा गर्न जोड दिएको छ ।




























