५ साउन धनगढी :सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मन्त्री र राज्यमन्त्रीले शपथ लिएका छन् । शुक्रबार बेलुका प्रदेश प्रमुख नजिर मियाँले नवनियुक्त तीन मन्त्रीलाई शपथ खुवाएका हुन् ।
यसअघि मुख्यमन्त्री खगराज भट्टले नेकपा प्रदेशसभा सदस्य प्रकाश रावललाई उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री, ओमविक्रम भाट ‘सरल’लाई भौतिक पूर्वाधार विकासमन्त्री र खुसीराम चौधरीलाई आन्तरिक मामिला तथा कानुनमन्त्रीमा नियुक्त गरेका थिए ।
यस्तै, वन राज्यमन्त्री इन्दिरा गिरी र पूर्वाधार विकास राज्यमन्त्री जानकी पौडेल कुँवरलाई मुख्यमन्त्री भट्टले शपथ खुवाएका छन् । नवनियुक्त मन्त्री र राज्यमन्त्री नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का सांसद हुन् ।
योसँगै सुदूरपश्चिम प्रदेश सरकारले पूर्णता पाएको छ । प्रदेश सरकारमा नेकपा एमालेको तर्फबाट आर्थिक मामिला मन्त्रीमा चक्र मल्ल, सामाजिक विकास मन्त्रीमा सन्तोष थापा शर्मा र भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा दमन भण्डारी छन् ।




























