नेकपा एमालेका नेता महेश बस्नेतले रास्वपाको बुद्धी पहिल्यै आएको भए अहिलको अवस्था सम्म मुलुक नआइपुग्ने बताएका छन्। रास्वपाले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी कार्यकर्ताको जिम्मेवारी पार्टीले नलिने र त्यस्त व्यक्तिहरूले पार्टी छाडेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ भनेपछि उनको यस्तो प्रतिक्रिया आएको हो।
उनले सामाजिक सञ्जालमा लेखेका छन्-
रास्वपाले भदौ २४ गते भएको हिंसात्मक प्रदर्शनमा सहभागी कार्यकर्ताको जिम्मेवारी पार्टीले नलिने भनेछ र त्यस्ता व्यक्तिहरूले पार्टी छाडेर अनुसन्धान प्रक्रियामा सहयोग गर्नुपर्छ भनेछ ।
त्यस्तै, नख्खु कारागारबाट सभापति रवि लामिछाने बाहिरिएपछि कारागार परिसरमा भएको आगजनी तथा तोडफोडमा रास्वपाका नेताहरू संलग्न भएको प्रमाणित भएमा सरकारले कानुनअनुसार कारबाही गर्न अनुरोध गरेछ।
यदि यस्तै स्पष्ट बोध र बुद्धि पहिल्यै आएको भए न त यस्तो अराजक गतिविधि हुन्थ्यो, न रास्वपाको आजको अवस्था यसरी खस्कन्थ्यो। न त रवि लामिछानेमाथि १४ हजार कैदी भगाएको जस्तो गम्भीर दाग लाग्थ्यो, न पुराना दलहरूलाई आधारहीन आरोप खेप्नु पर्थ्यो।



























