अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजा युद्धविरामका लागि २० बुँदे योजना सार्वजनिक गरेका छन्।
ट्रम्पको योजनामा हमासले ७२ घण्टाभित्र सबै इजरायली बन्दीहरू छोड्नुपर्ने र नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक गर्ने उल्लेख छ।
इजरायलले २५० आजीवन कारावासी र १७०० अन्य कैदीहरूलाई मुक्त गर्ने र प्रत्येक मृत इजरायली बन्दीको सट्टा १५ गाजावासीको शव फिर्ता दिने योजना छ।
१४ असोज, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इजरायल–हमास युद्धविरामका लागि सार्वजनिक गरेको २० बुँदे योजना कार्यान्वयन भएमा गाजामा बन्दी बनाइएका नेपालका विपिन जोशीसहित सबै बन्दीहरूको अवस्था सार्वजनिक हुने भएको छ।
ट्रम्प र इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू सोमबार राति वासिङटनमा गाजा युद्धविरामका लागि सहमत भएका छन्। उनीहरूले सार्वजनिक गरेको विस्तृत योजनामा बन्दीहरूको रिहाइलाई प्राथमिकतामा राखिएको छ।



























