काठमाडौँ। नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले देशभर भइरहेको अविरल वर्षा र त्यसबाट सिर्जित विपद् व्यवस्थापनमा पार्टीका सबै तहलाई एकजुट भएर खटिन निर्देशन दिएका छन्।
पूर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले शनिबार साँझ सामाजिक सञ्जालमार्फत विशेष अपिल जारी गर्दै पार्टीका नेता-कार्यकर्ता, विपद् व्यवस्थापन विभाग, स्वयंसेवक समूह तथा भातृ संगठनहरूलाई खोज, उद्धार र राहतका काममा तत्काल जुट्न आह्वान गरेका हुन्। उनले योङ्ग कम्युनिस्ट लिग (वाईसीएल) का कार्यकर्ता विपद् प्रतिकार्यमा खटिएको जनाएका छन्।
प्रचण्डले असोज १७ गतेदेखि सुरु भएको वर्षाले बागमती, मधेस र कोशी प्रदेशका पहाडी भेगमा पहिरो र तराईमा डुबानको समस्या तीव्र रूपमा बढाउने देखिएको औँल्याएका छन्
सडक अवरुद्ध हुँदा अलपत्र परेका यात्रुको खान बस्न र सुरक्षाको व्यवस्था गर्न स्थानीय निकाय र नागरिकलाई सहयोग गर्न आग्रह गर्दै उनले संघ, प्रदेश र स्थानीय तहका सरकारहरूलाई युद्धस्तरमा समन्वय र नेतृत्व गर्न अनुरोध गरेका छन्।
साथै, उनले सबै राजनीतिक दलहरू, सामाजिक संघ–संस्था तथा नागरिक समाजलाई आपसी मतभेद बिर्सेर एकताबद्ध भई उद्धार र राहतका कार्यमा जुट्न विशेष अपिल गरेका छन्।

























