नुवाकोट।नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्वअर्थमन्त्री वर्षमान पुन ‘अनन्त’ले भोटेकोशी बाढीका कारण क्षतिग्रस्त नुवाकोटको विदुर क्षेत्रको शुक्रबार स्थलगत निरीक्षण गरेका छन्।
निरीक्षणका क्रममा पुनले गृहमन्त्री सुधन गुरुङ, नुवाकोटका प्रमुख जिल्ला अधिकारीलगायत सम्बन्धित निकायका अधिकारीहरूसँग विपद् प्रभावित नागरिकको उद्धार, राहत वितरण तथा पुनःस्थापनाका विषयमा छलफल गरे।
सो क्रममा पुनले रसुवागढी क्षेत्रमा सम्पर्कविहीन भएका सबै नागरिकको खोजी तथा उद्धार कार्यलाई तीव्र बनाउन गृहमन्त्री गुरुङको ध्यानाकर्षण गराए। विशेषगरी रोल्पाका २१ जना नागरिकसहित सम्पर्कविहीन रहेका नागरिकको अवस्था तत्काल पहिचान गरी खोजी तथा उद्धार कार्य प्रभावकारी बनाउन उनले आग्रह गरे।
विपद्का कारण प्रभावित नागरिकको तत्काल उद्धार, राहत र सुरक्षित पुनःस्थापनालाई प्राथमिकतामा राख्न आग्रह गर्दै पुनले खोज तथा उद्धार कार्यमा कुनै ढिलाइ नगर्नसमेत सम्बन्धित निकायलाई ध्यानाकर्षण गराए।
निरीक्षणका क्रममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूबाट प्राप्त राहत सामग्री पर्याप्त मात्रामा सङ्कलन भए पनि प्रभावकारी रूपमा वितरण हुन नसकेको विषयमा समेत पुनले गृहमन्त्रीको ध्यानाकर्षण गराए।
उनले जिल्ला समन्वय समिति (जिसस) को अगुवाइमा स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी राहत सामग्री व्यवस्थित, पारदर्शी र वास्तविक प्रभावित नागरिकसम्म पुग्ने गरी वितरण गर्न आग्रह गरे।
पुनको आग्रहपछि गृहमन्त्री गुरुङले थुप्रिएका राहत सामग्री तत्काल प्रभावित नागरिकसम्म पुर्याउने गरी जिससको अगुवाइमा राहत वितरण गर्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन्।
निरीक्षणका क्रममा विभिन्न सङ्घसंस्था तथा व्यक्तिहरूबाट प्राप्त राहत सामग्री पर्याप्त मात्रामा सङ्कलन भए पनि प्रभावकारी रूपमा वितरण हुन नसकेको विषयमा समेत पुनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिय ।





























