विज्ञापन

सुशीला कार्की प्रधानमन्त्री नबन्दासम्म मेरो मोबाइल सिज गरिएको थियो:ओली

विज्ञापन
Image
विज्ञापन

२०८२ कात्तिक २ गते  कात्तिक, काठमाडौं । तोकिएको समयभन्दा झन्डै एक घण्टा ढिलोगरी सम्पादकसँग संवादमा पुग्दा एमाले अध्यक्ष केपी ओलीसँग सुनाउने नयाँ कुराहरू थिएनन् । एक साताअघि सम्पादक भेट्दै माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले जिम्मेवारी नछाड्ने घुमाउरो संकेत गरेका थिए । ओलीले पनि आफू अझै जिम्मेवारीमा रहिराख्ने प्रष्ट सन्देश दिए ।

आइतबार कोटेश्वरको एक क्याफे तथा ब्यांक्वेटमा ओली ढिलोगरी पुग्दा एक दर्जनभन्दा बढी सम्पादकहरूले ओलीको प्रतीक्षा निर्धारित समयभन्दा अनपेक्षित रुपमा लम्बिएको भन्दै कार्यक्रमस्थल नै छाडेर हिँडेका थिए । त्यसअघिसम्म सम्पादकहरू आफूलाई विगतमा संवाददाता छँदाखेरि ओलीले कति घण्टासम्म, कसरी कुराएका थिए भन्दै कानेखुसी गर्दै थिए ।

ओलीमात्रै नभई कतिपय नेताहरूले समयको महत्व नबुझ्ने गरेको भन्दै अब उनीहरूले पनि सिक्नुपर्ने राय सहभागीहरूको थियो ।

पहिले पहिले प्रेससँग खुलेर बोल्न मन पराउने गरेका ओलीले चौथोपल्ट प्रधानमन्त्री बनेयता सिंगो कार्यकालभरि प्रेससँग विरलै संवाद गरे । प्रधानमन्त्री पदमा बहाल रहँदा सम्पादकहरूसँग उनको एउटा पनि संवाद भएन । उनलाई प्रेससँग ‘एक्सक्लुसिभ मेटरियल’ बनाइराख्ने, सोसल मिडिया इन्फ्लुयन्सरहरूबीच नजिक राखिराख्ने प्रधानमन्त्री सचिवालयको प्रयासले सार्थक रुप भने लिन सकेन ।

जेनजी विद्रोहपछि सत्ताच्युत ओलीले धेरै समयपछि आम सञ्चारका प्रतिनिधिसँग दोहोरो कुराकानी गरेका हुन् ।

दर्जन बढी सम्पादकले हल छाडेको केही समयपछि त्यहाँ बाँकी सम्पादकहरूलाई अभिवादन गर्दै प्रवेश गरेका ओली र सहभागीबीचको भौतिक दूरी निकै टाढा थियो । उनी सहभागी भन्दा माथिल्लो आसनमा बसेका थिए जहाँबाट अन्तरंग संवाद गर्न सम्भव थिएन । प्रेस चौतारीले सम्पादकसँग संवाद भनी ब्यानर टाँगे पनि संवादको साटो अगुवा कार्यकर्ता भेलाको छनक आउने खालको औपचारिक ‘सिटिङ अरेन्जमेन्ट’ थियो । त्यहाँ ओलीले दोहोरो र खुलस्त संवादमा भाग लिनुको साटो सधैंजसोका कार्यक्रममा झैं एकोहोरो लामो मन्तव्य नै दिए ।

दुई चरणमा गरी झन्डै दुई घण्टा बोलेका ओलीले मन्तव्यभरिमा जम्मा एउटा नयाँ सूचना दिए, ‘सुशीला कार्की प्रधानमन्त्री नबन्दासम्म मेरो मोबाइल सिज गरिएको थियो ।’ उनले यो सरकारको लक्ष्य चुनाव नभएको भन्दै आफूहरू सहभागी हुन नसक्ने बताए ।

ओलीले तत्कालीन प्रधानमन्त्री भएका कारण आफ्नो घर जलाइए पनि कांग्रेस सभापति शेरबहादुर देउवा दम्पत्तिमाथि आक्रमणको कारण के थियो भनी प्रश्न तेर्स्याए । सरकारले विधिको शासन राख्न नसकेको भन्दै चुनावको साटो प्रतिनिधिमा पुनर्स्थापनामार्फत् फर्कन सक्ने आकलन गरे । बाँकी विश्लेषण, दाबीहरूसहित लामो वक्तव्य दिएका थिए पूर्वप्रधानमन्त्री ओलीले ।

उहाँले थप्दै भन्नुभयो चिनियाँ राष्ट्रपति सी चिनफिङ, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र अरु केही नेताको उमेर दाँज्दै आफू अझै सक्रिय रहने दाबी गरे । जेनजी विद्रोहका बेला प्रधानमन्त्री रहेका ओलीसहित तीन दलका शीर्ष नेता असफल भइसकेकाले अब जिम्मेवारी छाड्नुपर्ने दबाब तिनकै दलभित्र समेत बढ्दो क्रममा छ ।

तर ओलीले ‘सम्पादकले भनेका भरमा पद नछाड्ने’ बताए । केही सम्पादकले उनीसहितको शीर्ष नेतृत्व लामो समयदेखि पदमा रहे पनि जनताले त्यसको लाभ नपाएको भन्दै अब मार्गप्रशस्त गर्नुपर्ने, २३ भदौमा राज्यले मच्चाएको हिंसाको नैतिक दायित्व लिनुपर्नेलगायत प्रश्न तथा धारणा राखेका थिए । तर ओलीले त्यसको ठोस चित्तबुझ्दो जवाफ दिएनन् ।

ओलीले आफू पदमा रहने वा नरहने निर्णय कार्यकर्ता तथा जनताले गर्ने भन्दै बाँकी सम्पादक वा बुद्धिजीवीको रायतर्फ उदासीनता देखाए ।

ओलीले जेनजी आन्दोलनका तीन भाग भएको तर्क गरे । २३ भदौमा प्रहरी ब्यारिकेड तोड्दै विध्वंशात्मक भएको प्रदर्शनले घुसपैठ तथा अराजकताको बाटो समाएकाबारे उनले औंल्याए । तीन भाग के थिए भन्नेतर्फ लामो व्याख्या भने गरेनन् ।

ओलीले आफूबाट सुशीला कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव, सिफारिस केही नगएको दाबी गरे । त्यस्तो प्रमाण भए देखाउन उनले माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई चुनौती पनि दिए ।

आफ्नो सिंगो जीवन सादगी र पारदर्शीतामा बितेको भन्दै ओलीले सम्पत्तिका बारेमा कुनै आशंका भए छानबिन गर्न पत्रकार महासंघ वा सम्पादकलाई आग्रह गरे।उनले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगसमक्ष बयान दिन नजाने दाबीसमेत गरे । आफू ७३ वर्ष भइसक्दा अझै पनि दु:ख पाइरहेको भन्दै उनले सम्पादकहरूसँग न्यायको अपिलसमेत गरे ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन