कार्तिक १६ काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी विभाजन भएको छ । महासचिव विप्लवले क्रान्तिकारी कम्युनिष्ट पार्टीसँगको एकतामा भन्दा जेन्जी आन्दोलनबाट बिस्थापित सत्तारुढ दल एमालेसँग निकटता देखाएपछि आफूहरुको राष्ट्रिय भेलाले पार्टी पुनर्गठन गरेको बताउनु भएको हो ।
काठमाडौंमा आज सम्पन्न राष्ट्रिय भेलाले मिलन सीलाई सर्वसम्मत महासचिव चयन गरेको छ । संसदीय राजनीतिमा आउन १२ वर्ष लगाएको र क्रान्तिकारी कम्युनिष्ट पार्टी भन्दा पनि नेकपा एमाले लगायतका पार्टीसँग नेतृत्वले निकटता देखाएका कारण आफूहरुले राष्ट्रिय भेला गरेर पार्टी पुनर्गठन गरेको केन्द्रीय सदस्य शरद सीले जानकारी दिएका छन् ।
पार्टीको हालै सम्पन्न केन्द्रीय समितिको म्याण्डेटविपरित नेतृत्व अगाडि बढेपछि आफूहरुले राष्ट्रिय भेला आयोजना गरेको शरदले बताए । उनकाअनुसार भोलि काठमाडौंमा पत्रकार सम्मेलन गरेर थप जानकारी सार्वजनिक गर्ने तयारी छ । आफूहरुसँग पार्टीका बहुमत केन्द्रीय सदस्यको साथ रहेको उनको दावी छ ।


























