काठमाडौँ । सरकारी निकायले सेवाग्राहीलाई सहज रूपमा सूचना उपलब्ध गराउन नसकिरहेका बेला एक आईटी विद्यार्थीले सवारी चालक अनुमतिपत्र (लाइसेन्स) प्रिन्ट भए/नभएको जाँच्न सकिने प्लेटफर्म तयार पारेका छन् । यातायात व्यवस्था विभागको आधिकारिक प्रणाली झन्झटिलो हुँदा सर्वसाधारणले भोग्नुपरेको सास्तीलाई मध्यनजर गर्दै विद्यार्थी आकाश कोइरालाले ‘लाइसेन्स स्टाटस’ नामक वेबसाइट निर्माण गरेका हुन् ।
यातायात व्यवस्था विभागले अहिले देशभरका विभिन्न कार्यालयहरूमा क्यूआर कोडमा आधारित लाइसेन्स पठाइरहेको छ । तर, आफ्नो कार्ड कुन कार्यालयमा पुग्यो भन्ने जानकारी पाउन सेवाग्राहीले विभाग वा सम्बन्धित कार्यालयका वेबसाइटमा राखिएका लामा सूचीहरूमा एक-एक गरी खोज्नुपर्ने बाध्यता छ । कोइरालाले विभागकै वेबसाइटमा छरिएर रहेका सार्वजनिक तथ्याङ्कलाई एकीकृत गरी एकै ठाउँबाट सजिलै खोज्न सकिने प्रणाली विकास गरेका हुन् ।
आफ्नो लाइसेन्सको अवस्था थाहा पाउन सेवाग्राहीले licensestatus.space मा गएर आफ्नो ड्राइभिङ लाइसेन्स नम्बर टाइप गर्नुपर्नेछ । त्यसपछि कार्ड प्रिन्ट भएको छ कि छैन र छ भने कुन कार्यालयमा छ भन्ने विवरण तुरुन्तै देखिन्छ । यद्यपि, विभागले आफ्नो वेबसाइटमा तथ्याङ्क अपडेट नगरेको खण्डमा भने यस प्रणालीमा पनि विवरण फेला पर्ने छैन ।
किन अवरुद्ध भयो सरकारी प्रणाली ? यसअघि चिपमा आधारित स्मार्ट ड्राइभिङ लाइसेन्स वितरण हुँदा सरकारले एसएमएस र अनलाइनमार्फत विवरण हेर्ने सहज व्यवस्था मिलाएको थियो । तर, गत भदौमा भएको जेन-जी विद्रोहका क्रममा यातायात व्यवस्था विभागको कार्यालयमा तोडफोड र आगजनी भएपछि उक्त अनलाइन प्रणालीमा क्षति पुगेको थियो । सोही कारण हालसम्म पनि सरकारी स्तरबाट लाइसेन्सको अवस्था हेर्ने प्रणाली अवरुद्ध छ ।
लाइसेन्स छपाइको वर्तमान अवस्था
१२ कात्तिक २०८२ मा यातायात व्यवस्था विभाग र सुरक्षण मुद्रण केन्द्रबिच ६ महिनाभित्र १२ लाख थान क्यूआर आधारित लाइसेन्स छाप्ने सम्झौता भएको थियो । केन्द्रका अनुसार हालसम्म ८ लाख ७९ हजारभन्दा बढी कार्ड प्रिन्ट भइसकेका छन् भने ९५ हजार कार्ड छपाइको प्रक्रियामा छन् । अझै दुई लाख २४ हजारभन्दा बढी लाइसेन्स छाप्न बाँकी छ । केन्द्रलाई आगामी १२ वैशाखभित्र सम्झौता अनुसारका सबै कार्ड प्रिन्ट गरिसक्नुपर्ने दबाब रहेको छ ।



























