१७ वैशाख, काठमाडौं । सरकारले देशभरका अतिक्रमित जग्गामा बनेका संरचना हटाउन ७७ वटै जिल्ला प्रशासन कार्यालयहरूमा सर्कुलर जारी गरेको छ ।
गृह मन्त्रालयले देशभरका प्रमुख जिल्ला अधिकारीहरूलाई पत्र पठाउँदै सम्बन्धित निकायको सहयोग र समन्वयमा जिल्लामा रहेका अतिक्रमित सरकारी तथा सार्वजनिक जग्गाको पहिचान गरी उक्त जग्गाहरूमा रहेको अतिक्रमण हटाउने योजना सम्बन्धित निकायबाट माग गरी मन्त्रालयमा पठाउन पनि भनेको छ । जिल्ला प्रशासन कार्यालयहरूमा परिपत्र गरिएको गृह प्रवक्ता आनन्द काफ्लेले जानकारी दिए ।
यसअघि चैत २० मै गृहले पत्रमार्फत परिपत्र गरिएको थियो ।
हिजो (बुधबार) सचिवस्तरीय निर्णय गर्दै अतिक्रमण हटाउने कार्यका लागि सुरक्षा प्रबन्ध लगायतका आवश्यक सहजीकरण गर्न अनुरोध गरिएको छ ।
सरकारले अतिक्रमित संरचना हटाउने कार्यले तिव्रता दिइरहेको छ । शुक्रबारबाट काठमाडौंका सबै नदी किनारमा बनेका अतिक्रमित संरचना हटाइँदैछ ।
बिहीबार काठमाडौंका ती क्षेत्रमा माइकिङ भइरहेको छ ।

























