काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीले प्रधानमन्त्री बालेन शाहको अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ । प्रधानमन्त्री शाहले सीमाबारे विवादित अभिव्यक्ति दिएको विरोधमा नेकपाले जनवर्गीय सङ्गठनलाई सडकमा उतारेको हो ।
प्रदर्शनको जनवर्गीय सङ्गठन समन्वय मोर्चाका प्रमुख राजेन्द्र पाण्डेले नेतृत्व गरेका थिए । उनीहरूले राष्ट्रघाती अभिव्यक्ति दिने प्रधानमन्त्री राजीनामा मागे।
विरोध सभालाई सम्बोधन गर्दै नेकपाका नेता सुदेश पराजुलीले संसद्मा उभिएर देशकै कार्यकारी प्रमुखले राष्ट्रमाथि एउटा गम्भीर ढङ्गले प्रहार गरेको टिप्पणी गरे।
उनले भने, ‘देश चलाउने कुरा चिया खाएर र्याप हाने जस्तो हुँदैन रहेछ । हिजो काठमाडौंमा बालेन शाहको रूपमा उदय भएका बालेन्द्र शाह आज संसद्मा पुगेपछि भारतीय शाहको रूपमा प्रकट भइरहेका छन् । यो कुराको निन्दा र भर्त्सना गर्नका निम्ति हाम्रो पार्टी माइतीघरमा उभिएर खबरदारी गरिरहेको छ ।’
उनले राष्ट्रियताको विरुद्धमा उभिएको शासकलाई सडकबाट सबक सिकाउनका निम्ति आफ्नो पार्टी सडकमा उभिएको बताए ।



























