६ साउन, काभ्रेपलाञ्चोक । दोलखाको गौरीशंकर गाउँपालिका ९ मा आएको बाढीले बगाउँदा एक वृद्ध बेपत्ता भएका छन् भने चार जना जोखिमपूर्ण स्थानमा रहेका छन् ।
मंगलबार राति गौरीशंकर गाउँपालिका-९ स्थित सिप्रिङ खोलामा आएको बाढीले स्थानीय करिब ७३ वर्षीय चसमान तामाङलाई बगाएको हो । अन्य चार जना जोखिमपूर्ण स्थानमा रहेको गौरिशंकर गाउँपालिका वडा नं ९ का अध्यक्ष ङिमगेली शेर्पाले जानकारी दिए ।
उनका अनुसार चसमानको गाई बाख्राको गोठसहित बगाएको छ । त्यस्तै बाढीका कारण सिप्रिङ खोला जलबिद्युत केन्द्रमा कार्यरत कर्मचारीहरु सुकदेव श्रेष्ठ, सूर्यबहादुर तामाङ, कल्याण विक र विनोद श्रेष्ठ भीरको खुड्किलोमा अड्केको र त्यस ठाउँ पनि असुरक्षित रहेको वडाध्यक्ष शेर्पाले जानकारी दिए । खोलामा अहिले पनि लगातार बाढी आइरहेका कारण उनीहरुको उद्धार कठिन भएको वडाध्यक्ष शेर्पाले जानकारी दिएका छन् ।
जिल्ला प्रहरी कार्यालय दोलखाका प्रमुख डीएसपी मनोज लामाले घटनास्थलमा प्रहरी पुग्दै गरेको जानकारी दिए । ‘अहिले प्रहरीहरू सिंगटी र रोल्वालिङबाट घटनास्थल गइरहेका छन्,’ उनले भने ।
डीएसपी लामाका अनुसार दुर्गम भएको र पैदलै प्रहरी पुग्नुपर्ने भएकाले घटनास्थल पुग्न केही समय लाग्नेछ । प्रहरी घटनास्थलमा पुगेपछिमात्र थप जानकारी दिन सक्ने उनले बताए ।



























