विज्ञापन

पशु सेवा विभागले भन्यो- १ साउनयता बर्डफ्लु संक्रमण देखिएको छैन

विज्ञापन
Image
विज्ञापन

७ साउन, काठमाडौं । देशका विभिन्न भागमा फैलिएर पन्छीपालक किसानलाई गम्भीर असर पुर्‍याएको बर्डफ्लु संक्रमण दर नियन्त्रणमा आउन थालेको छ ।

पशु सेवा विभागका अनुसार १ साउनयता देशको कुनै पनि स्थानमा बर्डफ्लुको नयाँ संक्रमण देखिएको छैन । विभागका महानिर्देशक डा. उमेश दाहालले बर्डफ्लु अहिले पूर्णरूपमा नियन्त्रित अवस्थामा रहेको जानकारी दिए ।

पछिल्लो पटक काठमाडौंको गोकर्णेश्वर–१ सुन्दरीजलमा संक्रमण पुष्टि भएको थियो । त्यसयता नयाँ संक्रमण नदेखिएको र थप जोखिम न्यूनीकरणका लागि विगतमा संक्रमण देखिएका क्षेत्रको वरिपरिबाट नमुना संकलन गरी प्रयोगशाला परीक्षणलाई तीव्रता दिइएको विभागले जनाएको छ ।

पछिल्लो पटक ४ चैत २०८२ मा मोरङको उर्लाबारी–८ र सुन्दरहरैंचा–४ मा पुष्टि भएको यो संक्रमण देशभरिका ११ जिल्लामा फैलिएको थियो ।

हाल काठमाडौं उपत्यका बाहिरका ७ वटै जिल्लामा रोग पूर्णरूपमा नियन्त्रण भइसकेको छ विभागको भनाइ छ । काठमाडौं उपत्यकाका तीन जिल्ला र काभ्रेमा गरी कुल १ सय १९ स्थानमा संक्रमण देखिएको थियो ।

जसमा काठमाडौंमा ३२, ललितपुर (सदर चिडियाखानासहित) मा १५, भक्तपुरमा ४५ र काभ्रेपलाञ्चोकमा २७ वटा स्थानमा संक्रमण पुष्टि भएको थियो । बर्डफ्लु नियन्त्रणका लागि सरकारले देशभरिबाट ८ लाख ३५ हजार ५ सय ६३ वटा पन्छी नष्ट गरेको छ । विभागका वरिष्ठ पशु चिकित्सक डा. मुकुल उपाध्यायका अनुसार पन्छीका साथै ११ लाख ६५ हजार ६ सय ६३ वटा अन्डा र २ लाख ४५ हजार ३५ किलो दाना पनि सुरक्षित रूपमा नष्ट गरिएको छ ।

काठमाडौं उपत्यका र काभ्रेमा मात्रै ३ लाख ६७ हजार ८३५ पन्छी नष्ट गरिएको थियो । कमर्सियल लेयर्स कुखुरा सबैभन्दा बढी प्रभावित भएको यस रोगले ब्रोइलर, स्थानीय कुखुरा, हाँस, टर्की र कालिजमा समेत क्षति पुर्‍याएको थियो ।

रोग नियन्त्रणको प्रयासलाई सार्थक बनाउन सरकारले किसानको नष्ट गरिएका पन्छीको राहत वितरण गरेको छ । महानिर्देशक दाहालका अनुसार ५२ करोड रुपैयाँ व्यवस्थापन गरिएकोमा हालसम्म १०४ कृषक तथा फर्मलाई करिब ५० करोड ७१ लाख १५ हजार रुपैयाँ क्षतिपूर्ति दिइसकिएको छ ।

सरकारको तदारुकता, प्रयोगशाला परीक्षणमा ल्याइएको तीव्रता र किसानको पूर्ण सहयोगकै कारण समयमै बर्डफ्लु नियन्त्रण गर्न सम्भव भएको वरिष्ठ पशु चिकित्सक उपाध्यायले बताए । उनका अनुसार अब रोगको थप संक्रमण हुने सम्भावना निकै कम छ ।

बर्डफ्लु नियन्त्रणमा आएसँगै बजारमा कुखुराको मासु र अण्डाको खपत पुनः बढ्न थालेको छ ।

प्रतिक्रिया जनाउनुहाेस्
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन
विज्ञापन