२३ भदौ, काठमाडौं ।धादिङको पृथ्वी राजमार्गअन्तर्गत गजुरी गाउँपालिका–२ फुर्केखोलामा रहेको पक्की पुल बाढीले बगाएपछि प्रयोग हुँदै आएको वैकल्पिक सडक पनि मर्मतका लागि बन्द हुने भएको छ।
जिल्ला प्रशासन कार्यालय धादिङले सोमबार सूचना जारी गर्दै परेवाटार–पिपलटार–आदमटार–बेलिनटार–मास्टर सडक मर्मतसम्भारका लागि बन्द गर्न लागिएको जनाएको हो।
प्रशासनका अनुसार मंगलबार बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द रहनेछ। सो अवधिमा उक्त मार्ग हुँदै सञ्चालन हुने सम्पूर्ण सवारीसाधनको आवागमनमा रोक लगाइएको छ।
पृथ्वी राजमार्गमा बाढीका कारण पक्की पुल बगाएपछि वैकल्पिक मार्गका रूपमा उक्त सडक प्रयोग हुँदै आएको थियो ।
प्रशासनले सो अवधिमा धादिङबेँसी–सुनौलो बजार–भोर्ले-कोसीखोला–फोस्रेटार–कल्लेरीटार लगायतका वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्नसमेत अनुरोध गरेको छ।
प्रतिक्रिया जनाउनुहाेस्




























