धनगढी । सुदूरपश्चिम प्रदेशमा लामो समयदेखि देखिएको बजेट शून्यता अन्त्य गर्दै शीघ्र नयाँ बजेट ल्याउने राजनीतिक दलहरूबीच सर्वदलीय सहमति भएको छ ।
शुक्रबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा सर्वदलीय बैठक बसेको थियो । उक्त बैठकमा प्रदेशको बजेट निर्माण प्रक्रियालाई तीव्रता दिने र प्राथमिकताका आधारमा बजेट तथा योजना छनोट गर्ने सहमति गरेको सुदूरपश्चिम सरकारका प्रवक्ता तथा मन्त्री प्रकाश रावलले जानकारी दिए ।
बजेट निर्माणमा देखिँदै आएका बेथिति रोक्ने विषयमा प्रदेशमा प्रतिनिधित्व गर्ने दलहरूको बैठकमा प्रदेशको बजेट निर्माणमा विगतदेखि देखिँदै आएको टुक्रे योजनालाई निरुत्साहित गर्ने सहमति पनि भएको छ । प्रदेशको सीमित स्रोतलाई साना साना योजनामा छर्ने प्रवृत्तिले अपेक्षित उपलब्धि हासिल हुन नसकेको भन्दै ठूला, रणनीतिक र प्रदेशको समग्र विकासमा प्रभाव पार्ने योजनालाई प्राथमिकता दिनुपर्नेमा जोड दिइएको छ।
प्रदेश सभा सदस्यहरूले सिफारिस गर्ने योजनासमेत आवश्यकता, औचित्य र प्राथमिकताका आधारमा छनोट गर्नुपर्ने बैठकमा सहमति भएको छ। व्यक्तिगत वा क्षेत्रगत दबाबका आधारमा योजना थप्नेभन्दा प्रदेशको समग्र विकासमा योगदान पुग्ने योजनालाई बजेटमा समेट्ने विषयमा दलहरू एकमत भएका छन् ।
बैठकले प्रदेशका महत्त्वपूर्ण तथा प्राथमिकताप्राप्त पूर्वाधार, आर्थिक विकास, सामाजिक विकासलगायतका क्षेत्रमा प्रभाव पार्ने ठूला योजनालाई बजेटमा प्राथमिकता दिने निर्णय गरेको छ । त्यस्तै, अनावश्यक तथा टुक्रे योजनाका कारण बजेटमा हुने बेथिति नियन्त्रण गर्न बजेट निर्माणको प्रक्रिया थप व्यवस्थित बनाउने सहमति भएको छ ।
मुख्यमन्त्री खगराज भट्टको अध्यक्षतामा बसेको बैठकमा एमालेका संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्र रावल, प्रमुख प्रतिपक्षी दलका नेता तथा निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाह सहित एमाले, कांग्रेस र नेकपाका पूर्वमन्त्रीहरू समेत सहभागी थिए ।


























