अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र प्रमुख प्रविधि कम्पनीका उच्च अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता (एआई) को विकासमा सम्भावित जोखिम न्यूनीकरण गर्न कम्पनीहरूले आफैँ नियमन गर्ने विषयमा सहमति गरेका छन् ।
एआई प्रविधिको तीव्र विस्तारसँगै यसबाट उत्पन्न हुन सक्ने जोखिम नियन्त्रणका लागि थप सुरक्षा मापदण्ड आवश्यक रहेको आवाज बढिरहेका बेला ट्रम्पले मंगलबार ह्वाइट हाउसमा एआई कम्पनीका प्रमुखहरूसँग भेटवार्ता गरेपछि उक्त सहमतिको घोषणा गरेका हुन् ।
बैठकमा ओपनएआईका ग्रेग ब्रोकम्यान, एन्थ्रोपिकका डारियो अमोडेई, मेटाका मार्क जुकरबर्ग, गुगलका सुन्दर पिचाई र एनभिडियाका जेन्सेन हुआङलगायत सहभागी थिए ।
ट्रम्पले आफ्नो ‘ट्रुथ सोसल’ अकाउन्टमा सार्वजनिक गरेको सहमतिअनुसार कम्पनीहरूले ‘बलियो आन्तरिक नियन्त्रण प्रणाली’ लागू गर्नेछन् । ती नियन्त्रण प्रणाली प्रभावकारी भए–नभएको मूल्यांकन गर्न स्वतन्त्र बाह्य लेखापरीक्षकसँग सहकार्य गरिनेछ । साथै, आन्तरिक तथा बाह्य लेखापरीक्षकबाट प्राप्त प्रतिवेदनको मूल्यांकन गर्न प्रत्येक कम्पनीको सञ्चालक समितिअन्तर्गत छुट्टै समिति गठन गरिनेछ ।
कम्पनीहरूले आफ्ना एआई उपकरणले अनपेक्षित रूपमा प्राविधिक प्रणालीमा प्रवेश गर्ने वा त्यसलाई ‘ह्याक’ गर्ने अवस्था आउन नदिन पनि काम गर्ने प्रतिबद्धता जनाएका छन् ।
सहमतिमा भविष्यमा आवश्यक परे यी कदमलाई कानुन तथा नियमनको रूप दिन सकिने उल्लेख गरिएको छ ।
यो सहमति उन्नत एआईबाट उत्पन्न हुन सक्ने जोखिमबारे ट्रम्प प्रशासनमाथि निगरानी बढिरहेका बेला आएको हो । यसअघि ओपनएआई र एन्थ्रोपिकले आफ्ना एआई एजेन्टहरू नियन्त्रणबाहिर गई अन्य कम्पनीका प्रणालीमा अनधिकृत रूपमा प्रवेश गरेको जानकारी दिएका थिए ।
ह्वाइट हाउसको वेस्ट विङबाहिर आकस्मिक पत्रकार सम्मेलनमा ट्रम्पले उक्त सहमतिको तुलना ‘संविधान’सँग गरे । उनले भने, ‘विश्वका सबैभन्दा ठूला मानिसहरूले यसमा हस्ताक्षर गरेका छन्, र मैले राष्ट्रपतिको हैसियतमा हस्ताक्षर गरेको छु । यो वास्तवमै सुरक्षाको एउटा रूप हो ।’
ट्रम्पले एआई प्रविधि विकास गरिरहेका व्यवसायीहरूको पटक–पटक प्रशंसा गर्दै यसले ‘अविश्वसनीय आर्थिक वृद्धि’ ल्याउने बताए । उनले कम्पनीहरूले स्व:नियमनको आवश्यकता बुझेको र त्यसतर्फ अघि बढिरहेको पनि बताए ।
ट्रम्पले एआई उपकरणको सुरक्षाको निगरानी गर्न १० सदस्यीय बोर्ड गठन गर्ने विषयमा आफूले विचार गरिरहेको बताए । तर, उक्त बोर्डमा को–को रहनेछन् भन्ने उनले स्पष्ट पारेनन् । उनले ह्वाइट हाउसमा एआईसम्बन्धी नीति हेर्ने नयाँ अधिकारीको नाम पनि चाँडै घोषणा गर्ने बताए ।



























