१३ भदौ, काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि बेपत्ता भएकाको खोजी तथा प्रभावितहरूको उद्धारका लागि सशस्त्र प्रहरी बल नेपालले थप जनशक्तिसहित ४ हजार ८ सयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ ।
सशस्त्र प्रहरीले बाढी प्रभावित रसुवा, नुवाकोट, धादिङ, तनहुँ, गोरखा, चितवन, पूर्वी नवलपरासी र पश्चिम नवलपरासीका विभिन्न क्षेत्रमा बेस क्याम्प स्थापना गरी खोज तथा उद्धार कार्यलाई तीव्रता दिएको जनाएको छ।
परिचालित टोलीमा दक्ष खोज तथा उद्धारकर्मी, मास क्याजुअल्टी भेहिकल, शव व्यवस्थापन टोली, शिविर समन्वय तथा व्यवस्थापन टोली र चिकित्सकसहितको प्राथमिक उपचार टोली खटिएका छन्। भत्किएका संरचनामा खोज तथा उद्धारका लागि छुट्टै ४४ सदस्यीय टोली समेत परिचालन गरिएको छ।
खोजीकार्यलाई प्रभावकारी बनाउन पाँचवटा ड्रोनसहित विशेष ड्रोन स्क्वाड र सातवटा के–नाइन डग समेत परिचालन गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बाढी प्रभावित विभिन्न स्थानमा गोताखोर टोली समेत खटाइएको छ भने थप जनशक्ति तयारी अवस्थामा राखिएको छ।
सशस्त्र प्रहरीले एकल प्रयासबाट ३२ जना र अन्य निकायसँगको संयुक्त प्रयासमा गरी १४७३ जनाको सकुशल उद्धार गरेको जनाएको छ ।
भोटेकोशी हुँदै त्रिशूली नदीतटीय क्षेत्रका प्रभावित ४८ वडामा रहेका एक हजार २०० भन्दा बढी विपद् सूचकमार्फत सूचना संकलन गरी उद्धार कार्यलाई व्यवस्थित बनाइएको छ। प्रभावित नागरिकका लागि विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गर्नुका साथै राहत सामग्री ढुवानीमा समेत सशस्त्र प्रहरी सक्रिय रहेको जनाएको छ।
घटनाकै दिनदेखि नुवाकोटमा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्य शिविर सञ्चालन गरिएको छ। उक्त शिविरबाट हालसम्म १ सय ४३ जनाको उपचार गरिएको छ।
प्रभावित क्षेत्रमा ऊर्जा आपूर्तिका लागि आठवटा जेनेरेटर, आवश्यक इन्धन, पाँचवटा सोलार प्यानल र १५ वटा ग्यास सिलिन्डरलगायत अत्यावश्यक सामग्री सुरक्षित रूपमा पुर्याइएको छ। सशस्त्र प्रहरीको एकल प्रयासबाट बाढी प्रभावित क्षेत्रबाट ११० जनाको शव फेला परेको छ जनाइएको छ ।
यस्तै, भोटेकोशी बाढीका कारण नुवाकोटमा फसेका ५९ जनालाई सशस्त्र प्रहरीको सवारी साधनमार्फत काठमाडौं ल्याइएको छ।
उद्धार तथा सहायताका लागि सशस्त्र प्रहरी बल नेपालको निःशुल्क हटलाइन नम्बर १११४ मा सम्पर्क गर्न समेत अनुरोध गरिएको छ।



























