११ असोज, काठमाडौं । पूर्व प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई परिवारको जिम्मा लगाइएको छ ।
शनिबार मध्यराति घरबाटै पक्राउ परेका जबरालाई केहीबेरअघि परिवारको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयका एसपी रामेश्वर कार्कीले जानकारी दिए ।
अपराध अनुसन्धान कार्यालयका एसएसपी सन्तोष खड्काले भने जबरालाई सुरक्षित ठाउँमा पठाएको बताएका थिए ।
‘सुरक्षित ठाउँ’ भनेको कहाँ हो भन्नेबारे भने उनले खुलाएका छैनन् ।
गएराति अपराध अनुसन्धान कार्यालयको टोलीले महाराजगञ्जस्थित निवासबाट उनलाई पक्राउ गरेको थियो ।
उनलाई भेट्न भनेर कार्यालय पुगेको मानव अधिकार आयोगको टोलीलाई पनि प्रहरीले भेट्न दिएन । गेटमा करिब ४५ मिनेट कुर्दा पनि भेट्न नदिइएपछि आयोगको टोली फर्किएको थियो ।
सरकारले जबरालाई पक्राउ गर्नुपर्नाका कारण खुलाएको छैन ।
प्रतिक्रिया जनाउनुहाेस्


























