८ कात्तिक, धनकुटा । धनकुटाको साँगुरीगढी गाउँपालिका–१० त्रिवेणीस्थित सप्तकोशी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने तीन जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय धनकुटाका अनुसार आइतबार दिउँसो भोजपुरको हतुवागढी गाउँपालिका–९ कोप्चेबाट चालकसहित १५ जना लिएर सुनसरीको बराहक्षेत्रस्थित चतरातर्फ जाँदै गरेको ओबीएम कम्पनीको पानीबोट ब्रेक फेल भएर दुर्घटनामा परेको हो ।
दुर्घटनापछि सुनसरीको बराहक्षेत्रस्थित प्रहरी चौकीबाट खटिएको टोलीले चालकसहित १२ जनाको उद्धार गरी चतरा अस्पताल पुर्याएको थियो ।
उपचारका क्रममा सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की ५२ वर्षीया लिला राई, करिब ७ वर्षीया एक बालिका र करिब ४०–५५ वर्षका एक पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा भोजपुरको हतुवागढी गाउँपालिका–४ का ३१ वर्षीय मोहन सुनार घाइते भएका छन् । उनको चतरा अस्पतालमा उपचार भइरहेको र अवस्था सामान्य रहेको धनकुटा प्रहरी प्रमुख नारायण रञ्जितकारले जानकारी दिए ।प्रहरीका अनुसार दुर्घटनापछि झापाको कनकाई नगरपालिका–४ की निता मगरका सात वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता छन् । उनीहरूको खोजी भइरहेको छ ।
दुर्घटनामा परेका केही व्यक्ति पौडी खेलेर तथा उद्धारपछि सकुशल घर फर्किएका छन् । प्रहरीले चालक सुमन मगरलाई नियन्त्रणमा लिएको छ । उनी सुनसरीको बराहक्षेत्र नगरपालिका–१ का २४ वर्षीय हुन् ।



























