९ कात्तिक, काठमाडौं । नेपाल सरकारले नेपाल र मलेसियाबीच श्रमिक छनोट तथा भर्ना प्रक्रियामा देखिएका समस्या समाधानका लागि संयुक्त कार्यदल (ज्वाइन्ट वर्किङ ग्रुप–जेडब्लूजी) को बैठक नेपालमा आयोजना गर्न प्रस्ताव गरेको छ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत मलेसियाली पक्षलाई पत्राचार गर्दै आगामी नोभेम्बर १८–१९ वा डिसेम्बर २–३ मा काठमाडौंमा बैठक आयोजना गर्ने प्रस्ताव गरेको हो । मलेसियाली पक्षको अनुकूलताअनुसार बैठकको मिति तय गर्न सकिने नेपालले जनाएको छ ।
नेपाल र मलेसियाबीच नेपाली श्रमिकको छनोट तथा भर्ना प्रक्रियासम्बन्धी विषयमा देखिएका मतभेदलाई द्विपक्षीय संवाद र सहमतिबाट समाधान गर्ने उद्देश्यले बैठक प्रस्ताव गरिएको हो । विशेषगरी मलेसियाको विदेशी श्रमिक केन्द्रीकृत व्यवस्थापन प्रणाली (एफडब्लूसीएमएस) अन्तर्गत नेपाली श्रमिकको भर्ना प्रक्रियासँग सम्बन्धित विषयमा छलफल गर्ने नेपालको तयारी छ ।
श्रमिक भर्ना प्रक्रियामा निरन्तरता, पूर्वानुमानयोग्यता र सहजता कायम राख्न दुवै देशबीच आपसी सहमतिमा नयाँ व्यवस्था नबनेसम्म विद्यमान प्रक्रियालाई निरन्तरता दिनुपर्ने नेपालको धारणा छ ।
प्रस्तावित बैठकमा श्रमिक छनोट तथा भर्ना प्रक्रियालाई थप व्यवस्थित, पारदर्शी र श्रमिकमैत्री बनाउने विषयमा छलफल हुनेछ । साथै, सन् २०१८ मा नेपाल र मलेसियाबीच भएको श्रमसम्बन्धी समझदारीपत्र नवीकरणका लागि तयार पारिएको मस्यौदालाई अन्तिम रूप दिने विषय पनि बैठकको एजेन्डामा रहने अपेक्षा गरिएको छ ।
मलेसियाले नेपाली श्रमिक भर्नाका लागि एफडब्लूसीएमएस प्रणालीअन्तर्गत संशोधित व्यवस्था लागू गर्ने तयारी गरेपछि नेपालले यस विषयमा आफ्नो चासो राख्दै आएको छ । श्रमिक भर्ना प्रक्रियालाई सीमित म्यानपावर कम्पनीमा केन्द्रित गर्ने व्यवस्थाप्रति नेपालले असन्तुष्टि जनाउँदै आएको छ ।
नेपालले मलेसियासँगको श्रम सम्बन्धलाई थप सुदृढ बनाउँदै नेपाली श्रमिकको हित संरक्षण, सुरक्षित तथा मर्यादित वैदेशिक रोजगारीको प्रवर्द्धन र भर्ना प्रक्रियामा पारदर्शिता कायम गर्न चाहेको जनाएको छ । प्रस्तावित संयुक्त कार्यदलको बैठकबाट श्रमिक भर्नासम्बन्धी विवादित विषयमा सहमति जुट्ने नेपालको अपेक्षा छ ।





























