काठमाडौं
नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले आज पत्रकार सम्मेलन गर्ने भएका छन्। उक्त सम्मेलनमा उनले प्राधिकरणमा कार्यरत रहँदा गरेका महत्वपूर्ण कार्यहरूबारे जानकारी गराउनुका साथै आफ्नो बर्खास्तीसम्बन्धी विषयमा धारणा सार्वजनिक गर्नेछन्।
चैत ११ गते बसेको मन्त्रिपरिषद् बैठकले घिसिङलाई पदमुक्त गर्ने निर्णय गरेको थियो। उक्त निर्णयविरुद्ध उनले चैत १३ गते सर्वोच्च अदालतमा पुनर्बहालीको माग गर्दै रिट दायर गरेका थिए, जसलाई चैत १४ गते दर्ता गरिएको थियो।
तर, चैत १५ गते न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले अन्तरिम आदेश दिन अस्वीकार गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाएको थियो। सो छलफलपछि न्यायाधीश कुमार चुडाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले तीन दिनसम्म सुनुवाइ गरेपछि अन्ततः अन्तरिम आदेश दिन अस्वीकार गर्यो।
सर्वोच्च अदालतको यो निर्णयपछि घिसिङले आज पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गर्न लागेका हुन्।
उनले आफू प्राधिकरणमा रहँदा राज्यको जिम्मेवारी इमान्दारीपूर्वक पूरा गरेको दाबी गर्दै आएका छन्। साथै, आफूलाई अप्रत्यक्ष रूपमा निशाना बनाइएको पनि उनको आरोप छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा बोल्दै ऊर्जा मन्त्रीको निर्देशन नमानेका कारण घिसिङलाई हटाउनुपरेको बताएका थिए। घिसिङले ठूला उद्योगीहरूबाट डेडिकेटेड ट्रंकलाइनको बक्यौता उठाउनुपर्ने अडान लिएका थिए, जुन ऊर्जा मन्त्री पम्फा भुसाललाई स्वीकार्य थिएन। यसै कारण दुवैबीच मतभेद चुलिँदै गएर अन्ततः मन्त्रिपरिषद्ले उनलाई बर्खास्त गर्ने निर्णय गर्यो।
आजको पत्रकार सम्मेलनमा उनले सरकारको निर्णय, त्यसको पछाडिका कारणहरू तथा आफ्नो आगामी योजना बारे स्पष्ट धारणा सार्वजनिक गर्ने अनुमान गरिएको छ।

























