काठमाडौं,
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले राजसंस्था र हिन्दू राष्ट्र नफर्किएसम्म आन्दोलन नरोकिनेदाबी गरेका छन् ।
अध्यक्ष लिङ्देनले राजसंस्था र हिन्दु राष्ट्र फर्काउने आन्दोलन अन्त्य नभई राजावादी समूह नफुट्ने पनि दाबी गरे। बिहीबार राजसंस्था पुनर्स्थापनाका लागि गठित जनआन्दोलन समितिले जेठ १५ गतेबाट जनआन्दोलन घोषणा गरेको छ ।
उक्त घोषणालगत्तै सम्बोधन गर्ने क्रममा लिङ्देनले भनेका छन्, ‘हामीले हाम्रो आन्दोलन भनौंला, यो सिंगो देशवासीको आन्दोलन हो, यो आन्दोलन निष्कर्षमा नपुगि हामी छुट्ने छैनौँ ।’ उनले आफूहरूले घोषणा गरेको आन्दोलन कुनै पार्टी र समूहको नभइ सिंगो देशको भएको बताए ।
‘यो आन्दोलन कुनै पार्टी र समूहको लागि होइन, कुनै व्यक्तिको राजनीतिक अभिष्ट पूरा गर्नका लागि होइन, यो देशको भविष्य बनाउनका लागि हो,’ लिङ्देनले भने । उनले गणतन्त्रवादीहरूलाई पनि आफूहरूको आन्दोलनमा सहभागी हुन अपिल गरे ।
‘यो ध्रुवीकरणलाई बलियो बनाएर लैजाने जिम्मेवारी हाम्रो काँधमा आएको छ, आजको दिनसम्म औपचारिक रुपमा राजसंस्था र हिन्दुराष्ट्रको पक्ष मत राख्दै हिँड्ने दल र अन्य सबैलाई पनि यो ध्रुवीकरणमा सामेल हुन आग्रह गर्न चाहन्छु,’ उनले भने ।
आज बिहीबार जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने घोषणा गरिएको हो । घोषणासभामा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित थिए ।



























