ललितपुर !
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सभापति शेरबहादुर देउवाभन्दा प्रभावकारी ढंगले प्रधानमन्त्री चलाउन सक्ने दर्जनौं नेता कांग्रेसभित्रै रहेको दाबी गरेका छन् । शनिबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टीभित्र नेतृत्वको नयाँ पुस्ता तयार भइसकेको उल्लेख गरे ।
“१२–१५ महिनापछि देउवाजी प्रधानमन्त्री बन्ने भनिएको छ । तर, म विश्वास गर्छु, उहाँभन्दा सक्षम दर्जनौं नेता हाम्रो पार्टीभित्र छन्, जो अझ राम्रो प्रधानमन्त्री बन्न सक्छन्,” थापाले भने ।
थापाले देशको राजनीतिक नेतृत्वमा दीर्घकालीन अनुहारहरूले नै समस्याको जरो बनेको तर्क गरे। उनले एउटै व्यक्ति लगातार नेतृत्वमा रहनु गणतन्त्रको मर्मविपरीत भएको बताए । “आजको दिनदेखि यी नेताहरूले विश्राम लिन्छौं भने भोलिबाट आन्दोलन पनि सेलाउँछ, केही बाँकी रहँदैन,” उनको भनाइ थियो ।
थापाले शीर्ष नेताहरूको राजीनामामात्रै सबै समस्याको समाधान भने नहुने प्रस्ट पारे । राजनीतिमा नीति, योजना र जवाफदेहिता आवश्यक रहेको भन्दै उनले आन्दोलनको जड रोजगारी, शिक्षा र अवसर अभाव भएको उल्लेख गरे ।
राजसंस्थाको बहसमा बोल्दै थापाले नेपालमा संवैधानिक राजतन्त्रको पुनःस्थापना असम्भव रहेको दाबी गरे। उनले पूर्वराजा ज्ञानेन्द्र शाहलाई सिधा राजनीतिक प्रतिस्पर्धामा आउन चुनौती दिए । “लड्नुपर्छ भने मैदानमा आउनुपर्छ। बार्गेनिङको कुरा गरेर होइन, योजनासहित आउनुपर्छ,” थापाले भने ।
उनले राजतन्त्र समर्थकहरूलाई पनि जवाफदेही बन्न आग्रह गरे । “राजतन्त्र आएर के गर्नेरु रोजगारी, शिक्षा, स्वास्थ्यको समस्या के गर्ने ? अहिलेको यथार्थसँग मेल खाने जवाफ दिन नसक्नेले विगतमा फर्कन सक्दैन,” उनले स्पष्ट पारे ।




























