काभ्रेपलाञ्चोक। काभ्रेपलाञ्चोकको पनौती–१ रयालेका ९१ वर्षीय हरिप्रसाद सापकोटाको गत आइतबार निधन भएपछि उनका छोरीहरूले दागबत्ती र काजकिरियाको सम्पूर्ण जिम्मेवारी सम्हालेका छन् । छोरा नभएका स्व. सापकोटाको अन्त्येष्टि छोरीहरूले गर्ने भएपछि स्थानीय स्तरमा केही व्यक्तिहरूले असहमति जनाउँदै ‘सामाजिक बहिष्कार’को चेतावनी दिएका थिए ।
तर स्व. सापकोटाकी जेठी छोरी तथा बनेपा नगरपालिकाकी उपप्रमुख बिमला सापकोटा, बहिनीहरू निर्मला र राधिका सापकोटाले सामाजिक दबाब र परम्परागत मान्यतालाई अस्वीकार गर्दै किरिया बस्ने निर्णय लिए ।जानकारी पाएपछि बिमलाले सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै यस्तो कदम नेपालको प्रचलित कानुन र संविधानको मर्म विपरीत रहेको स्पष्ट पारिन् ।
उनले लेखेकी छन्, “महिला माथिको विभेद कहिले अन्त्य हुन्छ आफ्नाे बाउको काजकिरिया गर्दा सामाजिक बहिष्कारको मिटिङ हुँदै छ । यो समाज र दाजुभाइ भन्नेहरूले हामीलाई पिडा माथि पिडा थप्ने बहस र बैठक तुरुन्त रोक्न अनुरोध छ ।हामीले अरू कसैको वंशमा दखल गरेका छैनौ हामी अब थप पिडा सहन सक्ने अवस्था मा छैनौ ।’
उनले आफूहरु बहिस्कार हुन तयार रहेको भन्दै कानुन र संविधान विपरितको काम नगर्न चेतावनीसमेत दिएकी छन् । आफूहरूले गरेको यो कार्यले हजारौँ छोरीहरूमाथि न्याय हुने बिमलाले उल्लेख गरेकी छन् ।
उनले थप लेखेकी छन्, “ख्याल गर तिमीहरूले चलाएको बहस कानुन र संविधानको पनि बर्खिलाप छ । हामीले गरेको यो कामले हजारौँ छोरी माथि न्याय हुनेछ ।खबरदार यो छलफल र बहस रोकी हाल हामी बहिष्कार हुन तयार छौँ ।१३ दिन हाम्रो बुवाको घरमा बसेर काजकिरिया गर्न देउ पिडा नदेऊ १३ दिन पछि सदाको लागि माइतीको ढोका बन्द गरेर कर्म घर फर्कने छौ । समाजको डर लाग्नेहरू कृपया हामीलाई साथ दिनु पर्ने बाध्यता नसम्झनु होला तपाईँ स्वतन्त्र हुनुहुन्छ ।“
काजकिरिया गर्न सुरुमा सापकोटा परिवारका पुरोहितले अनुमति दिएका थिए । तर, समाजले पुरोहितलाई पनि बहिस्कार गर्ने खालको धम्की दिएपछि उनी पनि पछि हटेको र अर्का पुरोहितबाट काजकिरियाको काम भइरहेको छ । अहिले पुरोहित दिपक सुवेदीले काजकिरिया गरारइरेका छन् ।

























