२१ जेठ, रुकुमपूर्व । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की समानुपातिक सांसद् रिमा विश्वकर्माले नेपालको राजनीतिक इतिहास बुझ्न र राजनीति सिक्न रुकुमपूर्व आउनुपर्ने बताएकी छन् ।
भूमे गाउँपालिकामा आयोजित कर्मचारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले रुकुमपूर्वलाई राजनीतिक चेतना र परिवर्तनको केन्द्रका रूपमा उल्लेख गरिन् । ‘देशमा जुनसुकै दलका नेता तथा कार्यकर्ताले पनि रुकुमपूर्वको इतिहास बुझ्न आवश्यक छ’, उनले भनिन्, ‘राजनीति सिक्न पनि यहाँ आउनुपर्छ।’
तत्कालीन माओवादी जनयुद्धको आधार क्षेत्रका रूपमा परिचित रुकुमपूर्वले मुलुकको राजनीतिक दिशालाई प्रभाव पार्ने अनेक घटनाको साक्षी बनेको थियो। दशक लामो सशस्त्र द्वन्द्वका क्रममा रुकुम र रोल्पा क्षेत्र माओवादी आन्दोलनको केन्द्र बनेका थिए ।
यही भूगोलबाट उठेको विद्रोह अन्ततः शान्ति प्रक्रिया, संविधानसभा निर्वाचन, संघीयता र गणतन्त्र स्थापनासम्म पुग्यो । राजनीतिक परिवर्तनका ती अध्यायमा रुकुमपूर्वको नाम बारम्बार जोडिने गरेको छ । यसै सन्दर्भलाई लिएर सांसद रिमाले रुकुमलाई राजनीति सिकाउने थलोका रुपमा चित्रण गरेकी हुन् ।
सांसद रिमाले पनि राजनीतिक परिवर्तनका ती ऐतिहासिक अध्यायसँग जोडिएको जिल्ला विकासका आधारभूत सूचकमा भने अझै पछाडि रहेको बताइन् । ‘देशलाई राजनीति सिकाएको रुकुमपूर्व आज पनि सडक, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत आवश्यकताका सवालमा संघर्ष गरिरहेको देखिन्छ’, उनले भनिन्, ‘यो विषय गम्भीर रूपमा सोच्नुपर्ने अवस्था छ।’
उनले राजनीतिक परिवर्तनको उपलब्धि जनताको जीवनस्तरसँग जोडिन नसके परिवर्तनको सार्थकता अधुरो रहने उल्लेख गर्दै दुर्गम जिल्लाको विकासलाई राज्यले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिइन्।
नेपालको राजनीतिक परिवर्तनको साक्षी रुकुमपूर्व आज पनि राष्ट्रिय राजनीतिको महत्वपूर्ण सन्दर्भका रूपमा चिनिन्छ। तर, परिवर्तनको नेतृत्व गरेको भूगोल नै विकासको प्रतिफलबाट अपेक्षाअनुसार लाभान्वित हुन नसक्नु राज्यसामु उभिएको गम्भीर प्रश्न भएको सांसद् विश्वकर्माले बताइन् ।



























