१६, कार्तिक काठमाडौं । असोज अन्तिम साता सम्पन्न केन्द्रीय कमिटी बैठकको निर्णय बमोजिम नेकपा एमालेले पार्टीको एघारौं महाधिवेशन पोखरामा गर्ने तयारी थालिसकेको थियो ।
जेनजी आन्दोलनपछि पहिलोपटक शनिबार मोटरसाइकल र्याली गर्दै एमालेले पोखरामा भव्यताका साथ महाधिवेशन हुने सन्देश नै दिइँदै थियो । यद्यपि मोटरसाइकल र्यालीको सन्देश अरु पनि थिए । जेनजी आन्दोलनपछि पार्टी र अध्यक्ष केपी शर्मा ओली अप्ठ्यारोमा रहेकाले शक्ति प्रदर्शनमार्फत् प्रतिवाद गर्ने योजना एमालेले जनाएको छ ।
र्यालीको नेतृत्व गर्न पुगेका थिए, ओलीका विश्वास पात्र महेश बस्नेत । र शक्ति प्रदर्शनमार्फत् प्रष्ट तीन सन्देश दिइएको थियो- एमाले चुप लागेर बस्दैन, पोखरामा महाधिवेशन हुन्छ र ओली नै अध्यक्ष बन्छन् ।
तर शनिबार ओलीको अस्थायी निवास गुन्डुमा बसेको एमाले सचिवालय बैठकले महाधिवेशनस्थल नै परिवर्तन गर्ने निर्णय गर्यो ।
‘पार्टीको एघारौं महाधिवेशन हामीले दशौं केन्द्रीय कमिटीको बैठकबाट मंसिर २७ देखि २९ सम्म गर्ने निर्णय गरेका थियौं,’ उपमहासचिव ज्ञवालीले भने, ‘अब पोखराको सट्टामा काठमाडौंमा गर्ने भएको छ ।’


























