मधेस प्रदेशकी प्रमुख सुमित्रा सुवेदी भण्डारीले आज बिहान मुख्यमन्त्रीमा नेकपा एमाले संसद दलका नेता सरोज कुमार यादवलाई नियुक्त गरेकी छन् । नेता यादवलाई संविधानको धारा १६८ को उपधारा ९३० बमोजिम ठुलो दलको हैसियतमा सोमबार बिहान मुख्यमन्त्री नियुक्त गरेकी छन्।
यसअघि मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनलले शनिबार साँझ (२२ कार्तिक) आफ्नो पदबाट राजीनामा दिएका थिए। सोही दिन उनले प्रदेशसभाबाट विश्वासको मत लिने कार्यक्रम तय गरिएको थियो, तर पर्याप्त समर्थन नपाउने देखेपछि राजीनामा दिएका हुन्।
सोनलले राजीनामा दिएपछि आइतबार रातिसम्म पनि प्रदेश प्रमुख भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी थिइनन्। आह्वानमा ढिलाइ भएपछि नेपाली कांग्रेस, जनता समाजवादी पार्टी नेपाल, लोसपा, माओवादी केन्द्र, एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी लगायतका छ दलले संविधानको धारा १६८ को उपधारा (२) अनुसार नै नयाँ सरकार गठनको आह्वान हुनुपर्ने माग गरेका थिए।


























