बैशाख-३काठमाडौं। नेकपा एमाले र भर्खरै विभिन्न वाम घटक एक भई बनेको नेपाली कम्युनिस्ट पार्टीबीच एकताको गृहकार्य भइरहेको नेताहरूले बताएका छन्। नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र (पछि नेकपा) बनेको पाँच वर्षपछि कम्युनिस्ट पार्टीको पुनगर्ठन गरेर जानुपर्ने निचोडसहित नेताहरू निरन्तर छलफलमा जुटेका हुन्।
यसपटक एकताको छलफलको पहल एमालेको नेताहरूले गरेका हुन्। चुनावी नतिजाको धक्का र आन्तरिक शक्ति संघर्षको दबाबमा रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीकै चाहनामा एकताको विषयमा चरणबद्ध छलफल भइरहेको संवादबारे जानकार एक नेताले बताए। ओली र नेकपाका संयोजक प्रचण्ड पनि दुई पार्टी पुनः एकता गरेर चुनावी धक्का र पार्टीभित्र नेतृत्व परिवर्तनको दबाब सामना गर्ने कसरतमा छन्।
‘नेताहरूको बीचमा भेटघाट र संवाद भइरहेको छ। तर, त्यति अगाडि बढिसकेको होइन,’ एमालेका एक पदाधिकारीले रुपान्तरण खबर संग भने।आफ्नै निकट र विश्वासपात्र मानिएका नेताहरूले नै नेतृत्व परिवर्तनको अभियान चलाएपछि ओलीले राजनीतिक अस्तित्व जोगाउन र पार्टीमा उत्पन्न हुने संकट टार्न एकताको कार्ड अघि सारेको कतिपय एमाले नेताको बुझाइ छ। ओलीले आफ्ना भरपर्दा केही नेतालाई नेकपासँगको संवादमा खटाएका छन्।
एमाले उपमहासचिव लेखराज भट्ट र विष्णु रिमालले नेकपाका वर्षमान पुन अनन्तसँग पटकपटक छलफल गरिसकेका छन्।
‘परिस्थिति नयाँ बन्दै गएको छ। चुनावी परिणामपछि देशको अवस्था कता जान्छ भन्न नसकिने अवस्था आएको छ। एजेन्डा मिल्नेहरू मिलेर जानुपर्छ भनेर छलफल चलिरहेका छन्,’ एमालेका ती पदाधिकारीले थपे, ‘तर, अहिलेसम्म कुनै निचोडमा पुग्न सकिएको छैन।’
नेकपाका एक नेताले पनि एमालेबाट एकताको प्रस्ताव आएको स्वीकारे।‘चुनावी परिणाम र एमालेभित्र उत्पन्न परिस्थितिपछि अब मिलेर जानुपर्छ भनेर प्रस्ताव आएको साँचो हो,’ ती नेताले भने।
अहिलेसम्म एमाले अध्यक्ष ओली र नेकपा संयोजक प्रचण्डबीच भने कुरा भएको छैन। चुनावमा एमाले र नेकपा दुवैले शर्मनाक पराजय भोगेका छन्।
‘शीर्ष नेताबीचमा कुरा भएको छैन। अरुसित कुरा भइरहेको छ,’ नेकपाका अर्का नेताले भने।
एक्लाएक्लै चुनाव लड्दा प्राप्त भएको निराशाजनक परिणामले दुवै दलका दोस्रो र तेस्रो तहका नेताहरूलाई चिन्तित बनाएको छ।
एमाले अध्यक्ष ओलीका विश्वासपात्र एवं सांसद गुरु बरालले पनि दुवै पार्टीका नेताहरू संवादमा रहेको बताए।
‘ऐनवक्तमा केही नगर्ने अनि निर्वाचनको नतिजा पछाडि वाम एकताको कुरा गर्ने पहिलादेखिको चलन हो,’ उनले निर्वाचनअघि नै यस्तो एकता हुनुपर्ने संकेत गर्दै भने।
आगामी स्थानीय तह र प्रदेश सभाको निर्वाचनमा पनि अहिलेकै अवस्थामा चुनावमा जाने हो भने परिणाम झन् खस्किने भन्दै दुवै दल मिल्नुपर्ने तर पहिला पार्टीलाई बलियो बनाउनुपर्ने पक्षमा आफू रहेको बरालको भनाइ छ।
‘पार्टीलाई पहिला सबल बनाऊँ, कमजोर भएको बेला एकता कस्तो हुन्छ?’ बरालले थपे, ‘पहिला पार्टीलाई बलियो बनाउनुपर्छ। त्यसका लागि एमालेका सबै नेता एकताबद्ध हुनुपर्छ। अनि मात्र अरुसँग एकता अगाडि बढाउनुपर्छ।’
उनले अध्यक्ष ओली हटाउन भइरहेका गतिविधिप्रति असन्तुष्टि जनाए। ‘सबैले मिलेर पार्टी बनाउनुपर्छ। यो बेला कसैलाई हटाउने वा के गर्ने होइन, सबै मिल्नुपर्छ। जनताको मन दुखेको छ। जनता र नेताबीचको सम्बन्ध टुटेको छ, त्यसलाई स्थापित गर्नुपर्छ। पार्टीलाई पुरानो जगमा फेरि उठाउनुपर्छ,’ बरालले भने, ‘सबै सम्भावना बोकेका नेताहरू एकाकार हुनुपर्छ, पार्टीलाई एकताबद्ध बनाएर लानुपर्छ।’
जेनजी आन्दोलन छानबिन आयोगको प्रतिवेदनअनुसार पक्राउ परेका ओली दुई हप्ता हिरासत बसेर मुक्त भएका छन्। तर, अहिले पनि उनी अस्पतालमा उपचाररत छन्। ओलीलाई नेकपाका नेता नारायणकाजी श्रेष्ठले अस्पतालमै पुगेर भेटेका थिए। भेटमा कम्युनिस्ट आन्दोलनको भविष्यबारे छलफल भएको बताइएको छ।
नेकपाका संयोजक प्रचण्डले विभिन्न घटकसँग एकता गरेकाले असारभित्र महाधिवेशन गर्नुपर्नेछ। तर, चुनावी परिणामपछि उनलाई पनि नेतृत्वमा नउठ्न नेताहरूले दबाब बढाएका छन्। ठीक यही अवस्थामा एमालेमा ओली हटाउन भइरहेका गतिविधिले नेकपासँग एकताको प्रयास भइरहेको देखिन्छ।
नेकपाका नेता अग्नि सापकोटाले पार्टीको नीति नै वाम घटकबीचको एकता रहेको बताए।
‘हामीले पनि बृहत् कम्युनिस्ट आन्दोलनको एकीकरण, पुनर्गठन, देशभक्तबीचको बृहत् संयुक्त मोर्चा बनाउने कुरा त गरिराखेका छौँ,’ उनले भने, ‘यससम्बन्धका ठोस निर्णय गर्न बाँकी छ।’
नेकपाको संयोजन समितिको बैठक बिहीबार बस्दैछ। सम्भवतः बैठकमा प्रचण्डले यसबारे ब्रिफिङ गर्ने नेताहरू बताउँछन्।
एमाले र तत्कालीन माओवादी केन्द्रले २०७४ मा गठबन्धन गरेर प्रतिनिधि सभाको चुनाव लड्दा झण्डै दुई तिहाइ सिट जितेका थिए। त्यसपछि २०७५ जेठ ३ गते दुई दलबीच एकता भई नेकपा बनेको थियो।
तर, त्यो एकता लामो समय टिक्न पाएन। आन्तरिक विवाद देखाउँदै ओलीले दुईपटक संसद् विघटन गरेपछि विवाद चर्कियो। त्यति नै बेला २०७७ फागुन २३ गते सर्वाेच्च अदालतले एमाले र माओवादी केन्द्रको एकता भंग भएको फैसला गरिदियो, जसकारण दुवै दल अस्तित्वमा आएका थिए।
त्यसपछि एमाले पनि विभाजन भएको थियो।
























