नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी विरुद्ध गतिविधि गरिरहेको भन्दै विष्णु पौडेल र शंकर पोखरेल माथि चर्को असन्तुष्टि व्यक्त गरेका छन्। आफू निकटका नेताहरूलाई बोलाएर एकएक गरी भेटिरहेका ओलीले उनीहरूमाथि गम्भीर आरोप समेत लगाएका छन्।
पित्तथैलीको अपरेसन गरेर भर्खरै घर फर्केको ओलीले नेताहरुले आफूलाई अप्ठ्यारो परेको समयमा साथ नदिएको समेत बताउने गरेका छन्। अस्पतालमै रहँदा समेत आन्दोलन चर्काउन नसकेको भन्दै नेताहरूसँग चर्किएका ओली अहिले विष्णु पौडेल र शंकर पोखरेलको गतिविधिबाट आजित बनेको बताएका छन्।
ओली निकटकै एक नेताका विष्णु र शङ्कर ओलीलाई अध्यक्षबाट तत्काल हटाउने अभियानमा लागेको भन्दै उनीहरुलाई कारबाही प्रक्रिया अगाडि बढाउने बारे ओलीले परामर्श र छलफल गरिरहेका छन्।
केही नेताहरूसँग असन्तुष्टि पोख्दै ओलीले शंकर र विष्णुको लागि आफूले धेरै त्याग गरेको थुप्रै काण्डहरुमा बचाएको तर आफूलाई अप्ठ्यारो पर्दा साथ नदिएको गुनासो समेत गरेका छन्।
यता अध्यक्षबाट केपी ओलि लाई हटाएर पार्टी पुनर्गठन गर्ने अभियानमा लागेका शङ्कर र विष्णु भने विभिन्न समूहसँग लगातार छलफलमा छन्।
विष्णु र शङ्करले गरेका सबै गतिविधिहरूको सूचना पाएका ओलीले उनीहरुलाई अब कारबाही गर्नुको विकल्प नरहेको नेताहरुसँग बताउने गरेका छन्। ओली निकटकै एक नेताका अनुसार विष्णु र शंकरलाई अहिले कारबाही गर्न नसके आफूहरूसँग अब केही पनि नरहने निष्कर्षमा ओली पुगेका छन्।


























