२९ असार, काठमाडौं । अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण देशका विभिन्न स्थानमा मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।
सडक अवरुद्ध हुँदा कतिपय स्थानमा यातायात पूर्णरूपमा रोकिएको छ भने केही सडकखण्डमा एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
सडक विभागको विवरणअनुसार २०८३ असोज २९ गते बिहान ६:३० बजेसम्म देशका विभिन्न प्रदेशका राजमार्गहरू प्रभावित भएका छन् ।
सिन्धुपाल्चोकको कोदारी क्षेत्रमा पनि सडक भासिएपछि अवरुद्ध भएको सडक भने खुलिसकेको भोटेकोशी गाउँपालिका-२ का वडाध्यक्ष कुमार श्रेष्ठले जानकारी दिए । कोशि प्रदेश अन्तर्गत भोजपुरको मध्यपहाडी लोकमार्गअन्तर्गत भोजपुर नगरपालिका–५ बोखिम क्षेत्रमा सडक एकतर्फी रूपमा सञ्चालन भइरहेको छ । इलामको मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ राजदुवाली क्षेत्रमा भने सडक पूर्णरूपमा अवरुद्ध छ ।बागमती प्रदेश अन्तर्गत बाढी र पहिरोका कारण बागमती प्रदेशका तीन प्रमुख सडक प्रभावित भएका छन् । काभ्रेको बीपी राजमार्ग, मकवानपुरको कान्तिलोकपथ र सिन्धुपाल्चोकको अरनिको राजमार्ग पूर्ण रूपमा बन्द भएका छन् ।गण्डकी प्रदेश अन्तर्गत कास्कीको पोखरा–ताउतिङ सडक खण्ड पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको छ ।लुम्बिनी प्रदेश रोल्पा, अर्घाखाँची र गुल्मीका विभिन्न सडक खण्डमा यातायात अवरुद्ध भएको छ । पाल्पाको सिद्धार्थ राजमार्गमा भने एकतर्फी रूपमा सवारी सञ्चालन भइरहेको छ ।
नेपाल प्रहरीले वर्षाको अवस्था र सडकको जोखिमलाई ध्यानमा राख्दै यात्रामा निस्कनुअघि सडकको अवस्थाबारे जानकारी लिन आग्रह गरेको छ ।



























