सन् १९२१ मा स्थापना भएको सीपीसीले १०५ वर्षको यात्रामा चीनको राजनीतिक, आर्थिक र सामाजिक रूपान्तरणमा निर्णायक भूमिका खेलेको छ। २५ वर्षे जनयुद्धसहित संघर्षका चरणहरू पार गर्दै सन् १९४९ मा माओत्सेतुङको नेतृत्वमा जनवादी गणतन्त्र चीनको स्थापना भएको थियो। त्यसयता सन् १९७८ देखि देङ सियाओपिङद्वारा सुरु गरिएको सुधार तथा खुलापन (Reform and Opening-up) नीति, तीव्र औद्योगिकीकरण र गरिबी न्यूनीकरण अभियान, सन् २०१२ पछि सी चिनफिङको नेतृत्वमा भ्रष्टाचारविरुद्धको अभियान, प्रविधि र नवप्रवर्तनमा तीव्र लगानी, विश्वकै दोस्रो ठूलो अर्थतन्त्रका रूपमा चीनको उदय तथा सन् २०२१ मा मध्यम समृद्ध समाज (Moderately Prosperous Society) निर्माणको लक्ष्य पूरा भएको घोषणा यस अवधिका प्रमुख उपलब्धि र ऐतिहासिक घटनाका रूपमा मानिन्छन्।
चीनले नयाँ युगका लागि चिनियाँ विशेषतासहितको समाजवादसम्बन्धी सी चिनफिङ विचारमार्फत सन् २०४९ सम्म आधुनिक, समृद्ध, शक्तिशाली र समाजवादी राष्ट्र निर्माण गर्ने दीर्घकालीन लक्ष्यलाई प्राथमिकता दिएको छ।





























