नेपाली कांग्रेसको संस्थापनइतर समूहको राष्ट्रिय भेला आजदेखि काठमाडौंमा सुरु हुँदै छ ।
काठमाडौंको सुकेधारास्थित मिराकल पार्टी भेन्युमा हुने भेलाको उद्घाटन राष्ट्रिय भेला संयोजक तथा पूर्वमहामन्त्री शशांक कोइरालाको अध्यक्षतामा हुनेछ । उद्घाटन समारोहमा कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा प्रमुख अतिथिका रूपमा सहभागी हुनेछन् ।
भेलामा नेताहरू शेखर कोइराला, पूर्णबहादुर खड्का, प्रकाशमान सिंह, विमलेन्द्र निधि, विजयकुमार गच्छदार र कृष्णप्रसाद सिटौलालगायतको उपस्थिति रहने जनाइएको छ । शुक्रबार बिहान साढे ११ बजे उद्घाटनसत्र सुरु हुनेछ ।
भेलाका लागि भेन्युको आउटडोर र हलमा गरी ५ हजार ५०० कुर्सी राखिएको छ । उद्घाटनसत्रमा अतिथिहरूको सम्बोधन सहभागीले सहज रूपमा सुन्न सकून् भनेर मञ्चको अगाडि र पछाडि गरी ६ वटा डिजिटल बोर्ड राखिएको जनाइएको छ ।
भेलामा सहभागी हुने प्रतिनिधिले बसोबासको व्यवस्था आफैं गर्नुपर्नेछ । आयोजकका अनुसार शनिबार र आइतबार भने खानाको व्यवस्था गरिएको छ ।
उद्घाटन सत्रपछि हुने बन्दसत्रमा विभिन्न राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रस्ताव पेस हुनेछन् । पूर्वउपसभापति विमलेन्द्र निधिले राजनीतिक प्रतिवेदन तथा नेता एनपी साउदले समसामयिक राजनीतिक प्रतिवेदन पेस गर्ने कार्यक्रम छ ।
त्यस्तै, प्रकाशशरण महतले आर्थिक दृष्टिकोण, उमाकान्त चौधरीले सांगठनिक प्रस्ताव र रमेश लेखकले विधान संशोधनसम्बन्धी प्रस्ताव पेस गर्ने प्रचारप्रसार उपसमिति संयोजक मीन विश्वकर्माले जानकारी दिए ।
संस्थापनपक्षले विशेष महाधिवेशनका क्रममा गरेको विधान संशोधनलाई चुनौती दिने गरी संस्थापनइतर समूहले पनि विधान संशोधनको प्रस्ताव तयार पारेको जनाइएको छ ।
राष्ट्रिय भेला ३१ साउनसम्म सञ्चालन हुनेछ




























