काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी(नेकपा) बागमती प्रदेशका असन्तुष्ट पक्षले मुख्यमन्त्री किरण थापामगरलाई विश्वासको मत दिने भएका छन् । मंगलबार दिउँसो पार्टी संयोजक पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेपछि मुख्यमन्त्रीलाई विश्वासको मत दिन तयार भएको हो ।
असन्तुष्ट सांसदहरूले राप्रपासँग सत्ता साझेदार गरेको, नेकपा र नेकपा एमालेबिच भएको पाँच बुँदे निर्देशन अनुसार मन्त्रालय भागबन्डा नभएको विषयमा असन्तुष्टि व्यक्त गरेका थिए । सत्ता सहकार्यको विषयमा केन्द्रीय संयोजन समितिको बैठकले निर्णय गर्ने सहमति अनुसार मुख्यमन्त्री थापालाई विश्वासको मत दिने निर्णय भएको सांसद गङ्गानारायणले रुपान्तरण खबर लाई बताए ।
‘राप्रपासँग सत्ता सहकार्य गर्न हुन्थ्यो कि हुन्थेन भन्ने विषयमा संयोजक प्रचण्डसँग वैचारिक र राजनीतिक संवाद भयो । यस विषयमा केन्द्रीय संयोजन समिति बैठकले निर्णय गर्छ’, श्रेष्ठले भने, ‘बैठकले सहमति सही थियो भने ठिकै छ । ठिक थिएन भने विश्वासको मत फिर्ता लिन पनि सकिन्छ । उहाँले अहिले विश्वासको मत दिनोस्, बाँकी विषय बैठकमा छलफल गरौँला भन्नुभयोi
केन्द्रले गरेको निर्णयप्रति नेकपा केन्द्रीय संयोजन समितिका सदस्य रहेका श्रेष्ठ सहित कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, युवराज चौलागाईं, रुकु चौलागाईं, लक्ष्मण लम्साल, उर्मिला लामा र ओमकुमारी श्रेष्ठ असन्तुष्टि जनाएका थिए ।
यीमध्ये कृष्ण खनाल, राजेन्द्रमान श्रेष्ठ, लक्ष्मण लम्साल र ओमकुमारी श्रेष्ठ साबिक एकीकृत समाजवादीतर्फका हुन् भने बाँकी माओवादी केन्द्रका सांसद हुन् ।




























