जनकपुरधाम । मधेस प्रदेश सरकार मन्त्रिपरिषद्ले रसुवाको भोटेकोशी र त्रिशूलीमा आएको बाढीबाट प्रभावितहरूका लागि १ करोड ९६ लाख रुपैयाँ बराबरको आवश्यकता अनुसार टेन्ट र कम्बल वितरण गर्ने निर्णय गरेको छ । त्यस्तै, मधेस प्रदेशका नागरिक उक्त घटनामा परि मृत्यु भएका आफन्तलाई तत्काल राहत स्वरुप १ लाख प्रदान गरिने भएको छ ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार मुख्यमन्त्री कृष्ण प्रसाद यादवको अध्यक्षतामा बसको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो । बैठकले भोटेकोशी तथा त्रिशूली नदी क्षेत्रमा आएको बाढी तथा त्यसबाट सिर्जित विपद्का कारण मृत्यु भएका मधेस प्रदेशका नागरिकका परिवार वा नजिकका हकवालालाइ प्रति मृतक रु. १ लाख का दरले राहत प्रदान गर्ने तथा घाइते भएमा प्रादेशिक अस्पतालहरूमा निःशुल्क उपचारको व्यवस्था गर्ने निर्णय भएको अर्थमन्त्री युवराज भट्टराईले बताए । उनका अनुसार हालसम्म मधेसबाट ४ जनाको मृत्यु भइसकेको र १ सय ६० जना सम्पर्कविहीन अवस्थामा छन् ।
त्यस्तै, बाढी प्रभावित क्षेत्रमा आवश्यकताको आधारमा तत्काल ७ हजार थान कम्मल तथा ७ सय सेट टेन्ट गरी जम्मा रु. अक्षरेपि एक करोड छयानब्बे लाख रुपैयाँ बराबरको राहत गृहमन्त्री फकिरा महतो मार्फत प्रदान गर्ने निर्णय गर्दै उक्त राहत सामग्री नुवाकोट तथा रसुवा जिल्लाका जिल्ला प्रशासन कार्यालय, वाग्मती प्रदेश सरकार र प्रभावित क्षेत्रको स्थानीय तहको जनप्रतिनिधिको रोहबरमा हस्तान्तरण गर्ने जनाएको छ ।




























