काठमाडौँ । रसुवा जिल्लामा हालै आएको बाढीबाट प्रभावित नागरिकहरूलाई राहतस्वरूप कपडा उपलब्ध गराउने उद्देश्यले अनेरास्ववियू (क्रान्तिकारी) उपत्यका विशेष प्रदेश समितिले तीनकुनेमा तीन दिनको निम्ति ‘क्लोथ बैंक’ सञ्चालन गरेको छ।
प्राकृतिक विपद्का कारण समस्यामा परेका परिवारहरूसम्म आवश्यक कपडा सङ्कलन गरी वितरण गर्ने उद्देश्यका साथ सञ्चालन गरिएको यस अभियानमा सर्वसाधारण, विद्यार्थी, शुभेच्छुक तथा विभिन्न सङ्घ–संस्थालाई प्रयोगयोग्य र सफा कपडा सहयोग गर्न समितिका इन्चार्ज निरोज श्रेष्ठले आग्रह गरेको छ।
समितिका अनुसार सङ्कलन गरिएका सम्पूर्ण कपडाहरू रसुवाका बाढी प्रभावित क्षेत्रमा आवश्यकताका आधारमा वितरण गरिनेछ । विपद्को यस कठिन समयमा मानवीय सेवामा सबैको सहभागिता आवश्यक रहेको भन्दै अभियानमा साथ दिन उपत्यकावासीलाई आह्वान गरिएको छ।
अनेरास्ववियू (क्रान्तिकारी) ले विपद्को घडीमा प्रभावित नागरिकको साथमा उभिँदै मानवीय सेवाप्रतिको आफ्नो प्रतिबद्धतालाई व्यवहारमा उतारिरहेको जनाएको छ।





























