काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाले इरानमा रहेको माउन्ट कलांगमाथि चाँडै हमला गर्न सक्ने बताएका छन् ।
बीबीसीका अनुसार शुक्रबार पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले नतान्ज परमाणु संयन्त्रनजिक रहेको कलांग पर्वतमा गहिरा सुरुङसहितको किल्लाबन्द सैन्य संरचना रहेको बताए ।
इरानसँग जारी अमेरिकी सैन्य कारबाहीलाई ट्रम्पले ‘युद्ध’ नभई ‘सैन्य संघर्ष’ भन्दै अमेरिकाका लागि यो ठूलो विषय नभएको दाबी गरे । उनका अनुसार इरानसँगको संघर्षमा अमेरिकाले १८ जना गुमाएको छ ।
ट्रम्पले विगतको भियतनाम युद्धसँग तुलना गर्दै भने, ‘भियतनाममा हामीले एक लाख मानिस गुमाएका थियौँ ।’ उनले यसअघि भेनेजुएलामा गरिएको अमेरिकी कारबाहीमा भने कुनै अमेरिकी सैनिकको मृत्यु नभएको दाबी गरे ।
यसअघि अमेरिकी उपराष्ट्रपति जेडी भान्सले पनि इरानमा महिनौँदेखि जारी अमेरिकी सैन्य कारबाहीलाई युद्ध नभई ‘सैन्य संघर्ष’ भन्नुपर्ने बताएका थिए ।



























