डडेल्धुरा। नवदुर्गा गाउँपालिका–५ को कच्ची सडकमा बिहीबार बिहान से १ ज ७३८ नम्बरको जिप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय डडेल्धुराका निमित्त प्रमुख प्रहरी निरीक्षक डम्बर विष्टका अनुसार जिप सडकबाट करिब ५०० मिटर तल जंगलमा खसेको थियो।
प्रहरीका अनुसार डडेल्धुरा सदरमुकामतर्फ आइरहेको जिप दुर्घटनामा परेको हो। घटनास्थलमा प्रहरी टोली पुगेर अनुसन्धान सुरु गरेको छ। हालसम्म चार जनाको शव फेला परेको छ, तर मृतकको सनाखत हुन बाँकी छ। दुर्घटनाको कारण पनि खुलेको छैन।
दुर्घटनामा कम्तीमा सात जना घाइते भएको प्रहरीले जनाएको छ, यद्यपि घाइतेको यकिन संख्या पुष्टि हुन बाँकी छ। घाइतेहरूको उद्धार कार्य जारी छ र उनीहरूलाई उपचारका लागि डडेल्धुरा अस्पताल ल्याइँदैछ।
प्रतिक्रिया जनाउनुहाेस्



























