काठमाडौं भिजिट भिसा प्रकरणमा सत्तापक्षसँग २ बुँदे सहमति गरेको प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र)ले नेपाली कांग्रेससँग उच्चस्तरीय छानबिन समिति बनाउन तयार भएको छ ।
गृहमन्त्रीको राजीनामा र संसदीय छानबिन समितिको माग छाडेर सहमतिमा आएको केही दिन बित्न नपाउँदै माओवादी केन्द्रका दोस्रो तहका नेताहरूले नेपाली कांग्रेससँग ‘गोप्य’ छलफल गरेर समिति बनाउन तयार भएका हुन् ।
दुई पार्टीका नेताहरूबीच भिजिट भिसा प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनेबारे छलफल भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । उनका अनुसार उच्चस्तरीय समिति मन्त्रिपरिषद्ले गठन गर्नेछ ।
छानबिन समितिले भिजिट भिसाका सन्दर्भमा सबै प्रकारको छानबिन गर्ने र सुझाव समेत दिनेछ ।
छलफलमा कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का र गृहमन्त्री रमेश लेखक सहभागी थिए । यस्तै माओवादीको तर्फबाट उपमहासचिव पुनसहित नेता शक्तिबहादुर बस्नेत थिए ।
छलफलमा जुटेका नेताहरू पार्टीभित्र सभापति शेरबहादुर देउवा र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निकट मानिन्छन् ।
माओवादीले कांग्रेस विरुद्ध अडान छाडेको र संसद्मा अन्य प्रतिपक्षी दलहरूको अवरोध जारी रहेको बेला भएको गोप्य छलफललाई अर्थपूर्ण रूपमा हेरिएको छ ।



























