काठमाडौं । शीर्ष नेतृत्व दलका पूर्व विद्यार्थी नेताले जेनजीको आन्दोलनबाट भएका हिंसात्मक घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै राजनीतिक समाधान संसदबाटै खोज्नुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
बिहीबार जारी संयुक्त वक्तव्यमा भदौ २३ गते प्रदर्शनका क्रममा गोली प्रहारबाट ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति संवेदना व्यक्त गरिएको छ ।
उनीहरूले मृतकका परिवारलाई क्षतिपूर्ति दिन, घटनामा संलग्नलाई छानबिन गरी कारबाही गर्न स्वतन्त्र न्यायिक आयोग गठन गर्न माग गरेका छन् । साथै सार्वजनिक पदमा रहेका व्यक्तिको सम्पत्ति छानबिन गरी गैरकानूनी सम्पत्ति जफत गर्ने र भ्रष्टाचारमा संलग्नलाई कारबाही गर्न पनि जोड दिएका छन् ।
वक्तव्यमा जननिर्वाचित संसदलाई जनसत्ता प्रयोग गर्ने थलो भन्दै संसद विघटनको मागलाई अस्वीकार गरिएको छ । भ्रष्टाचार अन्त्य गर्ने, सुशासन कायम गर्ने र चुनावको वातावरण बनाउन संसदकै प्रक्रियाबाट नयाँ सरकार गठन गर्नुपर्ने उनीहरूको भनाइ छ ।
पूर्व विद्यार्थी नेताले भदौ २४ गतेको विध्वंसको आडमा संसद विघटन, राष्ट्रपतिको राजीनामा र राजतन्त्र पुनःस्थापनाका माग उठ्नु प्रतिगमनको संकेत भएको बताउँदै सबै अग्रगामी शक्तिलाई एकजुट हुन आह्वान गरेका छन् ।
विद्यार्थी र युवाले उठाएका माग संविधान संशोधन र संसदीय प्रक्रियाबाट समाधान गर्न सकिने स्पष्ट गरिएको छ । त्यस्तै, वक्तव्यमा हाल देखिएका व्यापक आगजनी र लुटपाट नियन्त्रण गर्न, जेलबाट भागेका कैदीलाई पक्राउ गरी पुनः कैदमा राख्न, र हिंसा तथा मुठभेड फैलन नदिन सम्बन्धित निकायलाई आग्रह गरिएको छ ।
संयुक्त वक्तव्य जारी गर्नेमा नेपाली काँग्रेको विद्यार्थी संगठनका पूर्व अध्यक्ष नैनसिंह महर र राजीव ढुंगाना, नेकपा (एमाले) निकट अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुंगेल र नवीना लामा, नेकपा (माओवादी केन्द्र) निकट अखिल (क्रान्तिकारी)का पूर्वअध्यक्ष नरेन्द्र न्यौपाने, रञ्जित तामाङ र पञ्चा सिंह, नेकपा (एकीकृत समाजावादी)निकट अनेरास्ववीयुका पूर्व अध्यक्ष सुदेश पराजुली र आरती लामा, नेपाल समाजवादी पार्टी निकट विद्यार्थी संगठनका पूर्वअध्यक्ष रुपनारायण श्रेष्ठ र राष्ट्रिय जनमोर्चा निकट विद्यार्थी संगठनका पूर्वअध्यक्ष अनिलकिशोर घिमिरे र विमल पोखरेल रहेका छन् ।











![रास्वपाबाट समानुपातिकमा को-को सिफारिस भए ? [सूची]](https://rupantarankhabar.com/wp-content/uploads/2026/03/Screenshot_2026-03-15-19-43-59-37_40deb401b9ffe8e1df2f1cc5ba480b12-600x358.jpg)








