प्रधानमन्त्री सुशीला कार्कीले स्वास्थ्य मन्त्रालयका अतिरिक्त सचिव प्रा.डा. श्रीकृष्ण श्रेष्ठको नेतृत्वमा गठन गरेको समितिको आइतबार बसेको पहिलो बैठकले आन्दोलनरत नर्सहरूको माग सम्बोधन गर्न सातवटै प्रदेशमा कार्यदल गठन गरिने निर्णय गरेको छ ।
बैठकले नेपाल नर्सिङ संघको संयोजकत्वमा सम्बन्धित प्रदेशको स्वास्थ्य मन्त्रालयका प्रतिनिधि, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि र आन्दोलनरत नर्स प्रतिनिधि समेतको कार्यदल सातै प्रदेशमा गठन गर्ने निर्णय गरेको जानकारी समितिका सदस्य डा. अनुप बाँस्तोलाले दिए।
उक्त कार्यदलले स्थलगत अनुगमन गरी सुझाव सहितको प्रतिवेदन पेस गर्ने निर्णय गरेको उनले बताए।
मन्त्रालयको गुनासो सुनुवाइ एकाईका प्रमुख समेत रहेका डा. बाँस्तोलाका अनुसार उक्त कार्यदलले श्रेष्ठ नेतृत्वको समितिसँग समन्वय गर्दै काम गर्नेछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसमेत हेरिरहेका प्रधानमन्त्री कार्कीले आइतबार बिहान मन्त्रीस्तरीय निर्णयबाट नर्सिङ स्वास्थ्यकर्मीहरूको सेवा–सुविधा लगायत विषयमा अल्पकालीन तथा दीर्घकालीन सुझाव सहितको कार्यान्वयन योजना प्रतिवेदन सात दिनभित्र पेस गर्नुपर्ने कार्यादेशसहित समिति गठन गरेको थियो।
आइतबार नै समितिको पहिलो बैठक बसेर तिहार र छठ बिदामा समेत भर्चुअल माध्यमबाटै भए पनि अध्ययनको काम अघि बढाउने गरी सातै प्रदेशमा कार्यदल बनाउने निर्णय गरेको हो।
समितिको दोस्रो बैठक कात्तिक ९ गते बिहान ११ बजे बोलाइएको छ। उक्त बैठकमा नेपाल मेडिकल तथा डेन्टल कलेज एसोसिएसन्स सहित निजी क्षेत्रका प्रतिनिधिलाई पनि अनिवार्य उपस्थित हुन समितिले भनेको छ।
समितिले दिएको कार्ययोजना सहितको प्रतिवेदन मन्त्रिपरिषदमा पेस गरिनेछ।
























