काठमाडौँ । नेकपा (एमाले) का प्रमुख सचेतक ऐन महरले सुदूरपश्चिमका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा नागरिकले अनाहकमा ज्यान गुमाउनुपरेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको सोमबारको बैठकमा आकस्मिक समयमा बोल्दै महरले जेब्रा क्रसिङमै नागरिक मारिनु र ठक्कर दिएपछि ब्याक गरेर किचेर मार्नु जघन्य अपराध भएको बताए ।
प्रमुख सचेतक महरले कैलालीको अत्तरियामा भएको सिन्की बोहराको मृत्युको घटना अत्यन्तै क्रूर रहेको उल्लेख गरे । ‘मष्टा गाउँपालिका–०६, बझाङकी सिन्की बोहरालाई महाकाली यातायातको बसले ठक्कर दिएर लडेपछि पुनः ब्याक गरी किचेर मारेको प्रत्यक्षदर्शीको भनाइ छ,’ महरले भने, ‘यो दुर्घटना मात्र होइन, नियतवश गरिएको हत्या हो ।’
२०८३ भदौ ७ गते बेलुका भएको घटनापछि मृतकका परिवारले हालसम्म शव बुझ्न नसकेको र दोषी चालकमाथि कडा कारबाही हुनुपर्ने उनले माग गरे ।
त्यस्तै, महरले धनगढी–०८ बुद्ध चोकमा भएको अर्को दुर्घटनाको पनि चर्चा गरे । २०८३ भदौ १ गते बिहान मर्निङ वाक सकेर घर फर्किने क्रममा जेब्रा क्रसिङबाट बाटो काट्दै गर्दा ६२ वर्षीय नन्दलाल गिरीलाई सु प प्र ०१–००१ ज १८७९ नम्बरको हाइसले ठक्कर दिएको थियो । उपचारका क्रममा गिरीको भारतको लखनउमा भदौ ७ गते मृत्यु भएको जानकारी दिँदै महरले भने, ‘जेब्रा क्रसिङमा समेत नागरिक सुरक्षित छैनन् भने सडक सुरक्षाको अवस्था के छ ?’
प्रमुख सचेतक महरले अत्तरिया घटनाका दोषी चालक रोहित सिंह धामीसहित दुवै घटनाका दोषीलाई कानुनी दायरामा ल्याउन र पीडित परिवारलाई उचित न्याय एवं क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरे ।





























