१८ भदौ, काठमाडौं । कृष्णभिरमा गएको पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक ढुवानी महँगो परेको भन्दै नेपाल आयल निगमकाे सहमतिमा उद्योगीले मिलेमताेमा खाना पकाउने एलपी ग्यासको मूल्य बढाएका छन् ।
नेपाल आयल निगमले एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार ६० रुपैयाँ तोकेकोमा ढुवानी भाडा भन्दै उद्योगीले १ सय ५ रुपैयाँ ३८ पैसा बढाएका हुन् ।
१८ भदौमा बसेको वार्षिक साधारणसभाको निर्णय बमोजिम काठमाडौं उपत्यकामा एलपी ग्यासको मूल्य बढाएको संघले विज्ञप्ति मार्फत जानकारी दिएको छ ।
उद्योग संघले गरेको निर्णय अनुसार अब काठमाडौं उपत्यकामा ग्यासको मूल्य प्रतिसिलिन्डर २ हजार १ सय ६५ रुपैयाँ ३८ पैसा पर्ने छ ।
कृष्णभिरमा पहिरो गएका कारण वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा महँगो पर्न गएकाले त्यसको केही भार उपभोक्ताले तिर्नुपर्ने गरी निर्णय गरिएको संघका पूर्वअध्यक्ष शिवप्रसाद घिमिरेले बताए ।
‘पहिला बुलेटले ग्यास ढुवानी गर्थ्यो, एक बुलेटमा १२ सय ५० सिलिन्डर ग्यास आउँथ्यो, तर तराईमा बोटलिङ गर्नुपर्दा र त्यहाँबाट अर्को माध्यमबाट ढुवानी गर्दा महँगो पर्न गयो,’ उनले भने, ‘ढुवानी भाडा नै १ सय ८० प्रतिसिलिन्डर परेकोमा त्यसमा उपभोक्तालाई १ सय ५ रुपैयाँ थप गरिएको हो ।’
आयल निगमसँगको सहमति अनुसार ग्यास मूल्य बढाइएको उद्योगीको दाबी छ । उद्योगीले काठमाडौं उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाडा बढाइएको जानकारी संघले दिएको छ ।
ग्यासको खरिद दर (रेट) बढेको नभई ट्रान्सपोर्टेसन कस्ट (ढुवानी लागत) बढेका कारण उपभोक्ता मूल्यमा वृद्धि भएको नेपाल ग्यास उद्योगका सञ्चालक गोकुल भण्डारीले दाबी गरे ।
‘आयल निगमले हामीलाई काठमाडौंसम्मको भाडा नदिई तराईसम्मको मात्र भाडा दियो,’ सञ्चालक भण्डारीले रुपान्तरण खबर सँग भने, ‘५० किलोमिटरभन्दा बढी दुरीमा ग्यास ढुवानी गर्दा लाग्ने अतिरिक्त भाडा लिन पाउने निगमसँगकै सहमति र प्रावधानका आधारमा हामीले प्रतिसिलिन्डर १ सय ५ रुपैयाँ बढाएका हौं ।’
उनका अनुसार उद्योगीको वास्तविक खर्च २ सय रुपैयाँभन्दा बढी लाग्छ, तर आयल निगमको प्रावधान अनुसार त्योभन्दा बढी (१ सय ५ रुपैयाँभन्दा बढी) लिन मिल्दैन । ‘त्यसैले घाटा खाएरै भए पनि हामीले ग्यास ल्याउनुपरेको छ,’ उनले भने ।
ग्यासको मूल्यमा आयल निगमको स्पष्टीकरण
नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य उद्योगबाट ५० किलोमिटर दूरीसम्मका लागि मात्रै तोक्ने गरेको बताएको छ ।
निगम प्रवक्ता मनोज ठाकुरले ५० किलोमिटरभन्दा बढी दुरीमा ग्यास ढुवानी गर्दा उद्योगीहरूले आफैं ढुवानी भाडा जोडेर लिन पाउने व्यवस्था रहेको बताए ।
‘निगमले तोक्ने मूल्य भनेको उद्योगदेखि ५० किलोमिटर दुरीसम्मका लागि हो, त्योभन्दा उताका हकमा भने उनीहरू (उद्योगी) ले ढुवानी भाडा जोडेर लिन पाउँछन्,’ ठाकुरले भने ।
ग्यास उद्योगीले निगमको सहमतिविनै आफूखुसी ढुवानी भाडा बढाएको हो कि भन्ने प्रश्नमा ठाकुरले यो कुनै नयाँ विषय नभई विगतदेखि नै चल्दै आएको व्यवस्था भएको दाबी गरे ।





























